पोखरा राइनोजलाई हराउँदै ललितपुर प्याट्रिओटसले काठमाडौंमा जारी एभरेष्ट प्रिमियर लिग (इपीएल)को प्लेअपमा पुगेको छ।
मंगलबार लिग चरणको अन्तिम खेलमा पोखरालाई ४ विकेटले हराउँदै ललितपुर प्लेअफ पुगेको हो। ललितपुरको जितमा जयकिसन कोल्सावालाले उत्कृष्ट ब्याटिङ गरेका थिए। कप्तान ज्ञानेन्द्र मल्ले अन्तिम बलमा १ रन आवश्यक रहेको बेला छक्का प्रहार गर्दै ललितपुरलाई जित दिलाएका हुन्।
अब एलिमिनेटरमा बुधबार ललितपुर र पोखराबीच खेल हुनेछ। उक्त खेलको विजेता दोस्रो क्वालिफायर्सका लागि छनोट हुनेछ। पराजित टोली बाहिरिनेछ।
पहिलो क्वालिफायर्समा बुधबार नै विराटनगरले भैरहवाको सामना गर्नेछ। यस खेलको विजेता फाइनल पुग्नेछ भने पराजित हुने टोलीले दोस्रो क्वालिफायर्स खेल्ने मौका पाउनेछ।
कीर्तिपुरस्थित टीयू मैदानमा टस हारेर पहिले ब्याटिङ गरेको पोखराले निर्धारित २० ओभरमा १३२ रन बनाएको थियो। पोखराका लागि ओपनर सुनिल धमलाले नटआउट ७० रनको योगदान दिएका थिए। ६२ बल खेलेका धमलाले २ चौका र ५ छक्का प्रहार गरेका थिए। राजेश पुलामी मगरले ३२ तथा विनोद भण्डारीले १२ रन बनाएका थिए।
ललितपुरका लागि दिपेश भण्डारी, रसिद खान, ललित नारायण राजवंशी र सन्दीप लामिछानेले १-१ विकेट लिएका थिए।
१३३ रनको विजयी लक्ष्य लिएर मैदानमा आएको ललितपुर जयकिसन कोल्सावालाले अर्धशतकीय पारी खेलेपछि अन्तिम ओभरमा ३ विकेट गुमाएर लक्ष्य भेट्टायो। कोल्सावाल र शंकर रानाले पहिलो विकेटका लागि ८४ रनको साझेदारी गरेका थिए।
कोल्सावालाले ५६ रन बनाए भने शंकरले ३५ रन जोडे। कप्तान ज्ञानेन्द्र मल्लले १७ बलमा १ चौका र १ छक्का प्रहार गर्दै नटआउट २७ रन बनाए। पोखराका इस्रारउल्लाहले २ तथा कप्तान शक्ति गौचन र सुशन भारीले १-१ विकेट लिए।