मिसन सागदेखि ओलम्पिक परियोजनाका लागि राष्ट्रिय टिम तयारीमा रहेका विभिन्न खेलका खेलाडी र प्रशिक्षकलाई बिहीबार खेल पोशाक वितरण गरिएको छ।
राष्ट्रिय टिम तयारीका विभिन्न १४ खेलका २ सय ८६ खेलाडी र ६० प्रशिक्षक गरी जम्मा ३ सय ४६ लाई ट्रयाक्स सुट र क्याप वितरण गरिएको हो। हाल एथलेटिक्स, उसु, कराते, तेक्वान्दो, जुडो, बक्सिङ, भारत्तोलन, आर्चरी, कुस्ती, सुटिङ, ब्याडमिन्टन, टेबल टेनिस, पौडी र ट्रायथलनका खेलाडीहरु राष्ट्रिय टिम तयारीमा छन्। पछिल्लो पटक राष्ट्रिय टिम तयारी गत फागुन २६ गतेदेखि सुरु भएको थियो।
राष्ट्रिय खेलकुद परिषद्का उपाध्यक्ष लामा टेन्डी शेर्पा, सदस्य–सचिव केशवकुमार विष्ट, सदस्यहरु उपेन्द्र पौडल र अर्जुनबहादुर केसीलगायतले उनीहरुलाई सातदोबाटोमा आयोजित एक कार्यक्रमबीच सामाग्री हस्तान्तरण गरे। राष्ट्रिय टिम तयारीका निर्देशक रिम रानाभाटले आगामी साग, एसियाली र ओलम्पिक खेलकुदको तयारीलाई ध्यानमा राखि प्रशिक्षण सुरु गरिएको बताए।