महाशिवरात्री एवम् सैनिक दिवसको अवसरमा आयोजित प्रधानसेनापति खुला म्याराथन प्रतियोगितामा नेपाली सेनाका अमल्दार कृष्ण बस्नेतले जितेका छन्।
बस्नेतले २ घण्टा २२ मिनेट ५२ सेकेन्डमा निर्धारित ४२.१९५ किलोमिटर दुरी पुरा गरि प्रथम भएका हुन् । सशस्त्र प्रहरी बलका गोपीचन्द्र पार्कीले २ घण्टा २५ मिनेट ३७ सेकेण्डमा दौड पूरा गरी दोस्रो र नेपाली सेनाका अमल्दार राजन खत्रीले २ घण्टा २९ मिनेट १२ सेकेण्डमा दौड पूरा गरी तेस्रो भए।
सैनिक मञ्च टुँडिखेलमा शनिबार आयोजित म्याराथनमा प्रथम, दोस्रो र तेस्रो हुने प्रतियोगिलाई प्रधानसेनापति राजेन्द्र क्षेत्रीले नगद तथा शिल्ड र प्रमाणपत्र प्रदान गरे।
प्रधान सेनापति क्षेत्रीले खुल्ल्ला म्याराथनमा प्रथम स्थान हासिल गरेका अमल्दार बस्नेतलाई पल्सर मोटरसाइकल, एक लाख नगद तथा शिल्ड तथा प्रमाणपत्र प्रदान गरे। त्यसैगरी दोस्रो भएका पार्कीलाई ५० हजार र तेस्रो स्थान हासिल गरेका अमल्दार खत्रीलाई २५ हजार नगद प्रदान गरे। टुँडिखेलबाट शुरु भएको म्याराथन भद्रकाली, शहीदगेट, त्रिपुरेश्वर, माइतीघर, तीनकुने, कोटेश्वर, जगाती, कमलविनायक, ब्यासी, सानोथिमी, पेप्सीकोला, जडीबुटी, एयरपोर्ट, गौशाला, चाबहिल, महाराजगञ्ज, लाजिम्पाट, जयनेपाल चित्र घर, राजदरबार हुँदै टुँडिखेलमै आएर समापन भएको थियो ।
हाफ म्याराथनमा नेपाली सेनाको जगदल गणका प्यूठ विश्वरुपा बुढा प्रथम, राजदल गणका प्यूठ रेशु बस्नेत दोस्रो र सशस्त्र प्रहरी बलका बिन्द्रा धनके श्रेष्ठ तेस्रो भए।
पुरूषतर्फको हाफ म्याराथनमा नेपाली सेनाको शेर गणका गजेन्द्रराज राई प्रथम, रणसिंह दलका सिपाही रामजी बस्नेत दोश्रो र सिंहनाथ गणका हुद्दा कल्याण बानियाँ तेश्रो भए। शनिबार नै भएका १० किलोमिटर र ५ किलोमिटर महिला तथा पुरुष दौड प्रतियोगितामा विदेशी धावक पनि सहभागी थिए।
सेनाले ५ किलोमिटर वाकाथन पनि आयोजना गरिएको थियो। कार्यक्रमको प्रधानसेनापति राजेन्द्र क्षत्रीले तोप पड्काएर शुभारम्भ गरेका थिए।