पोखरा महानगरपालिकाले नवौँ राष्ट्रिय खेलकुदमा पदक प्राप्त गर्ने खेलाडीलाई सम्मान गरेको छ।
राष्ट्रिय खेलकुदमा सहभागी भएर पदक प्राप्त गर्ने खेलाडी, प्रशिक्षक र व्यवस्थापक गरी एक सय ९२ जनालाई सम्मान गरेको हो।
स्वर्ण पदक विजेता ३५, रजत पदक विजेता ३२ र कास्य पदक विजेता ८५ खेलाडीलाई सम्मान सहित क्रमशः १५ हजार रुपैयाँ, १० हजार रुपैयाँ र कास्य पाँच हजार रुपैयाँ प्रदान गरिएको थियो। यसैगरी ३६ टोली व्यवस्थापक र ४० प्रशक्षिकलाई समेत सम्मान गरिएको थियो।
महानगर प्रमुख धनराज आचार्यले खेलाडीलाई प्रदान गरिएको रकम सानो भए पनि हौसला बढाउन सहयोगी हुने विश्वास व्यक्त गरे। खेलाडीको खेलजीवनको निरन्तरताका लागि आवश्यक सहयोग गर्न महानगरपालिका प्रतिबद्ध रहेको उनले बताए।
पोखरालाई पर्यटनको राजधानी बनाउने अभियानमा महानगरको टोली रहेको र खेलमार्फत पनि पर्यटन प्रवर्द्धन गर्न आवश्यक पूर्वाधार निर्माण गरिने बताएका छन्।