करातेका १९ स्वर्ण पदकमध्ये विभागीय नेपाल पुलिसले सर्वाधिक ९ स्वर्ण पदक हात पार्दै आफ्नो बर्चस्व कायम गरेको छ।
पर्वत सदरमुकाम कुश्मा बजारको बडागाउँस्थित सेमिकभर्ड हलमा भएको करातेको ५३ औं राष्ट्रिय कराँते प्रतियोगितामा ९ स्वर्ण, ३ रजत र ५ काँस्य पदकसहित १७ पदकमा पुलिसले पहिलो स्थान कायम राखेको हो।
एपीएफले ५ स्वर्ण, २ रजत र ७ काँस्यसहित १४ पदकका साथ एपीएफले दोस्रो स्थान कब्जा गरेको छ। तेस्रो स्थानमासमेत विभागीय टीम नै हाबी छ। आर्मीले २ स्वर्ण, ५ रजत र १ काँस्य गरी ८ पदक हासिल गर्न सफल भएको छ।
करातेमा बागमती प्रदेशले २ स्वर्ण, २ रजत र ४ काँस्य गरी ८ पदक हात पारेको छ। त्यस्तै सुदूरपश्चिम प्रदेशले १ स्वर्णसहित ६ कास्य पदक प्राप्त गर्दा गण्डकीले ३ रजत र ३ काँस्यमा चित्त बुझाएको छ। प्रदेश १ ले ३ रजत र ६ काँस्यपदक प्राप्त गर्यो। लुम्बिनीले १ रजत र ३ काँस्य पदक प्राप्त गर्दा कर्णालीले भने २ काँस्यमा चित्त बुझाउनुपर्यो।
कर्णाली प्रदेशले २ काँस्य पदक लिन सफल हुँदा मधेश प्रदेशले भने १ काँस्यमा चित्त बुझाएको छ। करातेमा १९ स्वर्ण, १९ रजत र ३८ काँस्यसहित जम्मा ७६ पदकका लागि खेल भएको हो।
खेलाडीलाई कुश्मा नगरपालिकाका मेयर रामचन्द्र जोशीले पदक वितरण गरेका हुन्।