संखुवासभाका खेलाडी धनबहादुर घले ६१ वर्ष पुगे। उनको उमेरले सकुशल आराम खोज्दैछ तर, उनी स्क्वासको र्याकेट बोकेर अझै कोर्टमा भेटिन्छन्।
उनको खेल्ने मन र इच्छालाई उमेर छेकेको छैन। यसैले पोखरामा जारी नवौं राष्ट्रिय खेलकुदमा प्रदेश नम्बर १ को प्रतिनिधित्व गर्दै खेल्न आए। उनी यस प्रतियोगिताको सबैभन्दा बढी उमेरका खेलाडी हुन्।
पोखरामा असोज २८ देखि सुरु भएको खेलकुदको कुम्भमेलामा भेला भएका छ हजार एक सय ५७ खेलाडीमध्ये घले सबैभन्दा पाका खेलाडी हुन्। विसं २०१८ वैशाख ५ गते सङ्खुभासभा खाँदबारी नगरपालिकामा जन्मिएका उनले उमेर छदासम्म सिङ्गापुर पुलिसमा सेवा गरे। सेवाकै क्रममा घलेले स्क्वास खेल्न सिके।
सिङ्गापुरमा निकै लोकप्रिय स्क्वासमा विभिन्न प्रतियोगिता खेले। सिङ्गापुरमा २६ वर्ष सात महिना सेवा गरेर उनले अवकाश लिए। नेपाल आएर उनले धेरै ठाउँमा स्क्वास खेल्न खोज तर, ठाउँ भेटेनन्। सातदोबाटो स्क्वास बनिसकेको थिएन। पूर्वमा पनि स्क्वासको भौतिक संरचना थिएन। उहाँ काठमाडौँ पुगेर साथी भाइसँग रमाइलोका लागि खेल्न थाले।
उनको खेल निकै राम्रो थियो। उनको खेल कौशल थाहा पाएर नै उनलाई प्रदेश १ को स्क्वास सङ्घले आग्रह गरेपछि उनी पोखरा आएका हुन्। पूर्वमा खेलाडी अभाव भएको हुँदा सङ्घले नै अनुरोध गरेपछि प्रदेश एकलाई प्रतिनिधित्व गर्दै खेल्न आएको उनले बताए। उनी पहिलो खेलमा पराजित हुनुभयो तर, उनलाई हार व्यहोर्नुपरेकोमा कुनै दुख छैन। नाती पुस्तासँग खेलेर हार्न पनि छुट्टै आनन्द हुने उनी सुनाउनछन्। आफूहरुले पछिल्लो पुस्तालाई प्रेरणा र हौसला दिइरहनुपर्ने उनको धारणा छ। व्याक्तिगत प्रतिस्पर्धामा हारे पनि टिममा राम्रो गर्ने उनले बताए।
उनसँगै प्रदेश १ बाट ५७ वर्षका वीरबहादुर नेपाल पनि खेलाडी भएर पोखरा आएका छन्। घलेभन्दा चार वर्ष कान्छा नेपालले खेल्न मन भएपछि उमेर नछेक्ने बताए। पाँचौँ राष्ट्रिय खेलकुदबाट खेल्न सुरु गरका उनी नवौँसम्म निरन्तर छन्। पाँचौँ राष्ट्रिय खेलकुदमा रजत पदक, छैटौँ, सातौँ र आठौँमा कास्य पदक जितेको उनले बताए। घले र नेपाल पाका खेलाडी भए पनि खेलमा उमेरले नछेकेको उनीहरुको भनाइ छ।
घले र नेपालको खेल कौशलका कारण नै उहाँहरुलाई छनोट गरेर पोखरा आएको प्रदेश नम्बर १ का स्क्वासका प्रशिक्षक अनिल बज्राचार्यले जानकारी दिए। “उमेर छिप्पिदै गएपनि उहाँहरुको खेलबाट म प्रभावित छु”, उनले भने, “हाम्रो प्रदेशमा स्क्वासका खेलाडी पनि कम छ। त्यसैले पनि उहाँहरुको खेल र खेल्ने इच्छाशक्तिका कारण लिएर आएको हुँ।”