टेबल टेनिसकी राष्ट्रिय च्याम्पियन नविता श्रेष्ठले २०६७ सालदेखि खेलेका कुनै पनि प्रतियोगिताको उपाधि गुमाउन परेको छैन। उनले खेलेका सबै प्रतियोगिताका उपाधि जितेकी छिन्।
२०६८ सालको छैठौं राष्ट्रिय खेलकुदमा स्वर्ण जितेकी नविताले २०७३ को सातौं र २०७६ को आठौं राष्ट्रिय खेलकुदमा पनि महिला एकलतर्फ स्वर्ण जितेकी थिइन्।
गण्डकी प्रदेशमा भइरहेको नवौं राष्ट्रिय खेलकुदको स्वर्ण भिडन्त भने उनका लागि विशेष रह्यो। बुधबार बिहान भएको स्वर्ण पदकको भिडन्तमा नविताकी प्रतिद्वन्द्वी आफ्नै नन्द एलिना महर्जन थिइन्।
दुबै खेलाडी नेपाल पुलिस क्लबमा आबद्ध छन्। पछिल्लो समय उत्कृष्ट लयमा रहेकी एलिनाले भाउजुविरूद्धको फाइनल भिडन्तमा सुरूमा अग्रता लिन सफल भइन्।
उनले पहिलो सेट ११-८ र दोस्रो सेट ११-६ ले जित्दै उत्कृष्ट सुरूवात गरे पनि तेस्रो सेटमा नविता खेलमा फर्किइन्। रोमाञ्चक तेस्रो सेटमा उनले १४-१२ ले जित्दै नविताले स्वर्णको आशा जिवित राखिन्।
चौथो सेट एलिनाले ११-८ ले जितेर स्वर्ण नजिक पुगेकी थिइन्। अनुवभी खेलाडी नविताले हार मानिनन्। उनले पाँचौ सेट ११-९ र छैठौं सेट ११-६ ले जित्दै खेललाई ३-३ को अवस्थामा पुर्याउन सफल भइन्।
निर्णायक सातौं सेटमा दुबैले उत्कृष्ट खेल प्रदर्शन गरे। एलिना दुई पटक म्याच प्वाइन्टमा पुगेरर चुकिन्। त्यसको फाइदा उठाउँदै नविताले १५-१३ ले निर्णायक सेट जित्दै १२ वर्षदेखि अपराजित यात्रा जारी राख्न सफल भइन्।
यसरी लगातार चार वटा राष्ट्रिय खेलकुदमा स्वर्ण जितेकी नविताले अहिलेसम्म आफूले भाग लिएको प्रतियोगितामा दोस्रो हुन परेको छैनन्। उनले १२ वर्षमा छनोट प्रतियोगिताका खेल मात्र गुमाएकी छिन्।
१२ वर्षसम्म अपराजित रहेकी नविता आफ्नो सफलताबारे भन्छिन्, ‘टेबलटेनिस मेरो प्यासन हो। भित्रदेखि नै छोड्न नसक्ने कुरा हो। त्यहीअनुसार मेहनत पनि गरेकी छु। त्यसैले यहाँसम्म आइपुगेकी हुँ।’
पहिलो स्वर्ण जितेको क्षण उनले अहिलेसम्म पनि बिर्सेकी छैनन्। बुधबार जितेको पछिल्लो स्वर्ण उनका लागि झनै सम्झनलायक बनिदियो।
‘आजको खेल पनि सम्झनलायक थियो। किनभने दुई सेटले पछि पर्दा र फाइनलमा म्याच प्वाइन्टमा हुँदा पनि मैले कमब्याक गर्न सकें। त्यसैले यो स्वर्ण सम्झनलायक छ,’ नविताले भनिन्।
अघिल्लो वर्ष कोभिड-१९ ले थलिएकी नवितालाई केही साताअघि मात्र डेंगी भएको थियो। नवौं राष्ट्रिय खेलकुदका लागि पोखरा आउँदासम्म उनको ज्वरो कम भएको थिएन।
‘घरबाट निस्कँदा पनि १०१ डिग्रीको ज्वरो थियो। मैले यसपटक अप्ठेरो महसुस गरेको थिएँ’ उनले भनिन्, ‘पहिलो दिन खेलें। दोस्रो दिनदेखि खुट्टामा समस्या आयो। त्यसपछि दुई इभेन्टका खेल बिग्रियो। अनि यसपालिको राष्ट्रिय खेल यत्तिकै हुने भयो सोचेकी थिएँ।’
उनी प्रतियोगिता चलिरहँदा दबाबमा थिइन्। त्यसैले फिजियोको सल्लाहअनुसार अघि बढिन्। उनको स्वर्ण जित्ने भोक मरेको थिएन।
‘खेलमा पछि परे पनि जित्ने आत्मविश्वास थियो,’ उनले भनिन्, ‘खेल जीवनमा अहिलेसम्म दुई खेल हारेको थिएँ। त्यतिबेला मलाई हारें भन्ने महसुस भएको थियो। आजको खेलमा एलिना फर्ममा भए पनि मलाई हार्छु भन्ने थिएन।’
आफ्नै नन्दसँग यसअघि पनि उनले प्रतिस्पर्धा गरेकी छन्। ती सबैमा नविताले उपाधि गुमाउन परेको छैन।
‘यसपालि जसले जिते पनि ठिक छ भन्ने थियो। किनभने लामो समयपछि मैले खेलिरहेको थिएँ। यसपालि ठिकै छ जसले जिते पनि राम्रो प्रदर्शन गर्छु भन्ने थियो,’ नवीताले भनिन्।
खेलअघि रणनीतिबारे एलिनासँग कुराकानी हुने गरेको नविताले बताइन्।
‘हामी एकअर्कालाई हराउन रणनीति बनाएर खेल्छौं। हामी खेलमा भने एकअर्काका प्रतिद्वन्द्वी हौं,’ उनले भनिन्, ‘जसले हराएर जिते पनि परिवारकै सदस्यले जितेको हो भन्ने लाग्छ।’
हेर्नुहोस् भिडिओ :