नवौं राष्ट्रिय खेलकुदअन्तर्गत पौडीका प्रतिस्पर्धा पोखराको फिस्टेल एकेडेमीको सर्ट कोर्समा जारी छ। तेस्रो दिनको खेल सकिँदा पौडीमा दर्जन बढी कीर्तिमान बनिसकेका छन्।
सोमबार मात्र सात कीर्तिमान बनेका छन्।
लगातार कीर्तिमान बनेसँगै २५ मिटरको भनिएको पोखरीको लम्बाइप्रति पौडीका केही प्राविधिकले आशंका व्यक्त गरेका छन्।
एक प्राविधिकका अनुसार पौडीको लम्बाइ मापदण्डभन्दा ९ सेन्टिमिटर कम पाइएको छ।
अन्तर्राष्ट्रिय पौडी महासंघ (फिना) को नियमअनुसार प्रतियोगितका लागि पौडी पोखरीको लम्बाइ ३ सेन्टिमिटर घटि-बढी भने हुन सक्छ। तर अहिले ९ सेन्टिमिटर कम पाइएपछि पौडीका प्राविधिकहरूले अनौपचारिक रुपमा असन्तुष्टि जनाइरहेका छन्।
'राष्ट्रिय प्रतियोगिता यसरी लापरवाही हुनु गम्भीर कुरा हो। यसले राम्रो सन्देश दिँदैन,' ती प्राविधिकले भने।
राष्ट्रिय खेलकुदका लागि राष्ट्रिय खेलकुद परिषदको प्राविधिक कमिटी र अनुगमन कमिटीले सबै भेन्यूको जाँच गरेर मात्र स्विकृति दिने गरेको छ। त्यहीँ अनुसार यो पौडी पोखरीले स्विकृति पाएको थियो।
नेपाल पौडी संघका अध्यक्ष अशोकरत्न बज्राचार्यले पनि प्राविधिक कमिटीले स्विकृति दिएर प्रतियोगिता सञ्चालन गरिएको बताए। उनले पौडी पोखरी पोखरीको लम्बाइ कम भएको कुरा भने अस्विकार गरे।
‘त्यस्तो कम लम्बाइ भन्ने छैन। अनुगमनदेखि सबै कमिटीले हेरेर भेन्यू फाइनल भएको हो, ’ उनले भने।