नवौं राष्ट्रिय खेलकुदअन्तर्गत पौडी प्रतिस्पर्धामा एकैदिन सात इभेन्ट्समा राष्ट्रिय कीर्तिमान बनेका छन्।
चार सय मिटर फ्रिस्टायलमा आर्मीका नारिस हुसेनले ४ मिनेट ०४.६४ सेकेन्डमा पौडिदै नयाँ राष्ट्रिय कीर्तिमान बनाए। यसअघि यो रेकर्ड उनकै नाममा थियो। उनले २०१९ को सागमा ४ मिनेट ३३.०५ सेकेन्डका साथ रेकर्ड बनाएका थिए।
अर्को कीर्तिमान नारिसले सय मिटर बटरफ्लाइमा बनाए। उनले ५७.८६ सेकेन्डका साथ नयाँ किर्तिमान बनाएका हुन्। नासिरले स्वर्णसहित कीर्तिमान बनाउँदा यसै बर्ष अनुभव सुब्बाले बनाएको रेकर्ड तोडे। अनुभवले ५९.७७ सेकेन्डका साथ कीर्तिमान बनाएका थिए।
एनआरएनकी एस्ले सापकोटा डंगोलले सय मिटर बटरफ्लाइमा १ मिनेट ०७.७४ सेकेन्डका साथ नयाँ कीर्तिमान बनाइन्। जारी प्रतियोगितामा पाँच स्वर्ण जितिसकेकी उनले गौरिका सिंहले आठौं राष्ट्रिय खेलकुदमा १ मिनेट ०९.९७ सेकेन्ड समयका साथ बनाएको कीर्तिमान भंग गरिन्।
एस्लीका भाइ आसिस सापकोटाले पनि २ सय मिटर ब्याकस्ट्रोकमा नयाँ कीर्तिमान बनाए। उनले २ मिनेट २९.६० सेकेन्डका साथ शुभम् श्रेष्ठले सन् २०१९ को १३औं सागमा बनाएको कीर्तिमान भंग गरे।
आर्मीकी डुवाना लामाले २ सय मिटर ब्रेस्टस्ट्रोकमा २ मिनेट ४४.२८ सेकेन्डका साथ नयाँ कीर्तिमान बनाइन्। यसअघि यो कीर्तिमान उनकै नाममा थियो। उनले १३औं सागमा २ मिनेट ४४.६८ सेकेन्डका साथ कीर्तिमान बनाएकी थिइन्।
यस्तै अलेकजेन्डर शाहले ५० मिटर ब्याकस्ट्रोकमा कीर्तिमान बनाए। उनले आफ्नै कीर्तिमान सुधार गरेका हुन्। उनले २७.४६ सेकेन्डका साथ कीर्तिमान बनाउन सफल भए।
यसै गरी चार गुणा चार सय मिटर फ्रि रिलेमा आर्मीका अनुभव सुब्बा, दिलीप थापामगर, नासिर हुसेन र अलेक्जेन्डर शाहले नयाँ कीर्तिमान बनाए। उनीहरुले ३ मिनेट ४५.५१ सेकेन्डका साथ नयाँ कीर्तिमान बनाएका हुन्।