नवौं राष्ट्रिय खेलकुद प्रतियोगिता अन्तरगतको पुरुष फुटबलमा समूह 'बी' को विजेता बन्दै एपिएफ सेमिफाइनलमा प्रवेश गरेको छ।
लामाचौरस्थित गोस्तेघाट खेल मैदानमा भएको समूह चरणको अन्तिम खेलमा एपिएफले वागमतीलाई ३–१ गोलले पाखा लगाउँदै सेमिफाइनलमा स्थान पक्का गरेको हो।
जितसँगै ६ अंकका साथ एपीएफ शीर्षस्थानमा रहँदै सेमिफाइनलमा प्रवेश गरेको हो। पहिलो हाफमा १ गोलले पछि परेको एपिएफले दोस्रो पुनरागमनसहित जित हात पारेको हो।
जित्नैपर्ने बाध्यतामा रहेको वागमतीले खेलको सुरुवातदेखी नै एपीएफलाई निकै दबाबमा राखेको थियो। आठौं मिनेटमा अमित तामाङको फ्रिकिकमा अञ्जन विष्टको ब्याक हेडर पहिलो बार नजिकैबाट बाहिरियो। २३ औं मिनेटमा अञ्जन विष्टको पासमा अभिषेकको प्रहार एपीएफका गोलरक्षक राजु नगरकाटीले सहजै बचाउ गरे।
३० औं मिनेटमा कप्तानले एपिएफका विकु तामाङलाई फाउल गरेपछि फ्रिकिकको अवसर प्राप्त गरेको थियो। एपीएफका मनि लामाको प्रहारमा सनिस श्रेष्ठको हेडर बाहिरियो।
४० औं मिनेटमा सुनिल बलको प्रहार बाहिरियो। ४६ औं मिनेटमा अभिषेक रिजालले गोल गर्दै टोलीलाई अग्रता दिलाए।
४७ औं मिनेटमा बागमतीका सुनिल बललाई एरिक विष्टले दिएको चिपपासमा एपिएफका गोलरक्षक राजु बाधक बने।
५३ औं मिनेटमा मनि लामाको फ्रिकिक प्रहार सिधै गोलरक्षकको हातमा पुग्यो। सरोज दाहालले विकु तामाङलाई धकेलेपछि फ्रिकिकको अवसर प्राप्त गरेको हो। ५८ औं मिनेटमा एपीएफका कप्तान टोपबहादुर विष्टले गोलरक्षकलाई पास दिन खोज्दा अञ्जन विष्ट बलसम्म पुग्ने प्रयास गरेपनि गोलरक्षक राजुले अघि बढ्दै टोलीको संकट टारे।
६५ औं मिनेटमा एपीएफका प्रदीप लामाले उत्कृष्ट गोल गर्दै खेलमा पुनरागमन गराए। प्रदीप लामा र सनिस श्रेष्ठबीचको उत्कृष्ट तालमेलसँगै बराबरी गोल गर्न सफल भएको हो। प्रदीपले सनिसलाई र सनिसले पुनः प्रदिपलाई वान टच रनिङपासमै उनले उत्कृष्ट गोल गरे। ७६ औं मिनेटमा नवीन लामाले उत्कृष्ट गोल गरे। डिबक्स नजिकैबाट गरेको शसक्त प्रहार क्रसबारमा लाग्दै गोल हुन पुग्यो।
वागमतीले ७९ औं मिनेटमा पुनः खेलमा अग्रता लिने अवसर गुमायो। करिब ३७ यार्डमा पाएको फ्रिकिकको सदुपयोग गर्न नसक्दा गोल गर्नबाट चुक्यो। एपीएफका दीपेश धिमालले अञ्जन विष्टलाई लडाएपछि फ्रिकिकको अवसर पाएको हो। अमित तामाङले प्रहार गरेको बलले मानविय पर्खाल नाघ्न सकेन।
वागमतीले ८३ औं मिनेटमा डिबक्स नजिकै फ्रिकिकको सुवर्ण अवसर खेर फाल्यो। अमितले नै प्रहार गरेको बल गोलरक्षकले पन्च गर्दै बचाउ गरे। लगत्तै अञ्जन विष्टको प्रहार क्रसबारमा लाग्दै रिवाउन्ड हुँदा एपिएफका डिफेन्डरले क्लियर गरे।
८९ औं मिनेटमा प्रदीप लामाको पासमा आभाष लामिछानेको शक्तिशाली प्रहार बाहिरिदाँ एपिएफ अग्रता दोब्बर पार्नबाट चुक्यो। लगत्तै ९१ औं मिनेटमा नविन लामाले व्यक्तिगत दोस्रो गोल गर्दै टोलीलाई ३–१ को स्थितिमा पु¥याए।
यस अघि एपिएफले मधेश प्रदेशलाई ६–० ले हराएको थियो भने बागमतीले मधेशलाई २–० ले हराएको थियो। हारसँगै अंक विहिन बनेको मधेश प्रदेश लिगचरणबाटै बाहिरी सकेको छ।
प्रतिष्ठाको खेलमा पुलिस विजयी
यस्तै पुरुष फुटबल लिग चरणको अन्तिम खेलमा नेपाल पुलिसले लुम्बिनी प्रदेशलाई ४–१ गोल अन्तरले हराएको छ। समूह ‘सी’ अन्तरगत भएको प्रतिष्ठाको खेलमा पुलिसले सानदार जित निकालेको हो। समूह सी बाट आर्मी शीर्षस्थानमा रहँदै फाइनल प्रवेश गर्दा पुलिस र लुम्बिनी बाहिरिएको थियो। पुलिसको जितमा कुलदिपले दुई तथा आषिस श्रेष्ठ र बुद्धबल तामाङले समान १÷१ गोल गरे। लम्बिनीका लागि फागु राम थारुले एक गोल गरे।
एनआरएन र गण्डकीबीच रद्द भएको खेलको निर्णय गण्डकीको पक्षमा
उता आइतबार लामाचौरस्थित गोस्ते खेल मैदानमा समूह ए अन्तरगत रद्द भएको एनआरएन र गण्डकी प्रदेशबीचको खेलको निर्णय गण्डकीको पक्षमा गएको छ।
एनआरएनले नियम विपरित ८ खेलाडी खेलाएको भन्दै प्रदेश नं। १ ले प्रोटेस्ट दिएपछि २–० गोलले जितेको खेलको निर्णय उल्टिएर प्रदेश १ को पक्षमा पुगेको थियो। ८ जना खेलाडीलाई कारवाहि गरेपछि आइतबार गण्डकी विरुद्धको खेलमा समेत सोही खेलाडीलाई नियमित खेलाडीको सूचिमा राख्दा खेल रद्द भएको थियो। राष्ट्रिय खेलकुद परिषद्ले उक्त खेलमा कारवाहि गरिएको खेलाडीलाई नै प्लेइङ सेटमा राखेको भन्दै गण्डकीले जितेको निर्णय गरिदिएको हो। निर्णयसँगै गण्डकी ६ अंकका साथ शीषस्थानमा रहँदै सेमिफाइनलमा प्रवेश गरेको छ।