नवौं राष्ट्रिय खेलकुदअन्तर्गत पौडीमा गैरआवासीय नेपाली संघ (एनआरएनए) की एस्ले सापकोटा डंगोलले चौथो स्वर्ण जितेकी छिन्।
उनले आइतबार आठ सय मिटर फ्रिस्टायलमा स्वर्ण जितेकी हुन्। पोखराको फिस्टेल एकेडेमीको पौडी पोखरीमा उनले निर्धारित दूरी १० मिनेट ३०.६४ सेकेन्डमा पौडन सफल भइन्।
यो स्पर्धामा नेपाल पुलिस क्लबकी आर्या महर्जनले १० मिनेट ४१.६२ सेकेन्डका साथ रजत र नेपाल पुलिसकै समीरा शोभा थापा मगरले १० मिनेट ५७.६४ सेकेन्डका साथ कास्य पदक जितिन्।
यसअघि एस्लेले शनिबार ५० मिटर बटरफ्लाइ, सय मिटर फिस्टायलमा र दुई सय मिटर ब्याकस्ट्रोकमा स्वर्ण जितेकी थिइन्।
नेपाली मूलका आमाबुबाकी सन्तान एस्लेले एक महिनाअघि मात्र नवौं राष्ट्रिय खेलकुदमा प्रतिस्पर्धा गर्ने पक्का भएको थियो। नेपालमा प्रतिस्पर्धा गर्ने पक्का भएपछि उनले अमेरिकाको क्यालिफोर्नियामा तयारी गरेकी थिइन्।
नवौंका भाग लिन सोमबार नेपाल ओर्लिएकी उनी बुधबार पोखरा आइपुगेकी हुन्।
१६ वर्षीया एस्लेले प्रतियोगितामा आठ वटा एभेन्टमा भाग लिएकी छिन्। प्रतियोगितामा उनले सबै खेलाडीलाई प्रतिस्पर्धीको रूपमा लिएकी छिन्।
‘डुवाना, गौरिकाको नाम सुनेको छु। गौरिकाको प्रदर्शन राम्रो छ,’ उनले भने, ‘तर सबै खेलाडीसँग प्रतिस्पर्धा हुन्छ जस्तो लाग्छ।’
अमेरिकी नागरिक एस्लेले नेपालबाट खेल्ने विषयमा भने सोचिसकेकी छैनन्। नेपालबाट खेल्नका लागि दोस्रो देशको पासपोर्ट त्यागेर नेपालको पासपोर्ट बोक्नुपर्छ।
‘नेपालबाट पनि खेल्ने कुरा अहिलेका लागि सोचेको छैन। बुबा-आमासँग सल्लाह गरेर भन्न सक्छु,’ उनले भनिन्।
उनका बुबा सञ्जय डंगोल कीर्तिपुरका हुन् भने आमा रेनुका सापकोटा झापाकी हुन्। उनीहरू सन् १९९८ मा अमेरिका गएका थिए। अहिले आमा रेनुका छोरी र छोरा लिएर नेपाल आएकी छिन्।
चार वर्षअघि पनि एस्ले नेपाल आएकी थिइन्। त्यतिबेला उनले स्कुलस्तरीय प्रतियोगितामा भाग लिएकी थिइन्। उनले नेपालको राष्ट्रियस्तरको प्रतियोगितामा भाग लिएको भने यो पहिलो पटक हो।
चार वर्षअघि साइपन आइल्यान्डबाट उनको परिवार क्यालिफोर्नियामा सरेको थियो। त्यसपछि उनले क्यालिफोर्नियामा पौडीका प्रतिस्पर्धा भाग लिन थालिन्। अहिले त्यहाँ प्रदेशस्तरको प्रतियोगिता खेल्ने गरेको उनले बताइन्।