नेपालकी स्टार पौडी खेलाडी गौरिका सिंह अस्वस्थ भएकी छिन्। नवौं राष्ट्रिय खेलकुदका लागि पोखरा आएकी गौरिकाले पेटमा समस्या भएको छ।
गौरिकाका आमा गरिमा राणाका अनुसार उनको पेटमा समस्या भएपछि दिउँस अस्पताल गएकी थिइन्। अहिले अस्पतालबाट फर्किएकी उनले आइतबारका एभेन्टमा भाग लिने अपेक्षा गरिएको छ।
अवस्थ भएपछि गौरिकाले शनिबार पोखराको फिस्टेल एकेडेमीमा आयोजित प्रतियोगिताको १ मिटर फिस्टायल र २ सय मिटर ब्याकस्ट्रोकबाट नाम फिर्ता लिएको उनकी आमा गरिमाले बताइन्।
उनी दिउँसो प्रतिस्पर्धाका लागि खेल स्थल पुगे पनि पूर्ण फिट नभएपछि फर्किएकी थिइन्।
नवौं राष्ट्रिय खेलकुदमा गैरआवासीय नेपाली संघ (एनआरएनए) ले शनिबार तीन स्वर्ण जित्यो। तीनै स्वर्ण अमेरिकाबाट आएकी एस्ले सापकोटा डंगोलले जित्न सफल भइन्।
उनले शनिबार पोखराको फिस्टेल एकेडेमीको २५ मिटरको कोर्समा ५० मिटर बटरफ्लाइमा पहिलो स्वर्ण जितिन्। उनले ३० सेकेन्डमा पौडिएर स्वर्ण जित्दा आर्मीकी डुवान लामाले ३२.१५ सेकेन्डको समयका साथ रजत हात पारिन्। पुलिसकी मेघन गुरुङ ३२.५२ सेकेन्डमा पौडिँदै कास्य पदक जितिन्।
एस्लेले सय मिटर फिस्टाइलमा अर्को स्वर्ण जितिन्। उनले १ मिनेट १.४२ सेकेन्डमा निर्धारित दूरी पौडिइन्। आर्मीकी अनुशिया तन्डुकार १ मिनेट १.६० सेकेन्ड समयका साथ रजत पदक हात पार्दा पुलिसकी मेघन गुरूङ १ मिनेट १.६० सेकेन्डमा कास्य जितिन्।
दुई सय मिटर ब्याकस्ट्रोकमा तेस्रो स्वर्ण जित्ने क्रममा एस्लेले २ मिनेट ३६.०४ निर्धारित दूरी पौडिइन्। बागमतीकी आरजु थापा मगर ३ मिनेट १७.९९ सेकेन्डका साथ दोस्रो र प्रदेश एककी उपसना राई ४ मिनेट २८.८६ सेकेन्डसहित कास्य जितिन्।