नवौं राष्ट्रिय खेलकुदअन्तर्गत महिला सय मिटर दौडमा नेपाल आर्मीकी सरस्वती चौधरीले २३ वर्ष पुरानो रेकर्ड भंग गर्दै स्वर्ण जितेकी छिन्।
शनिबार पोखरा रंगशालाको ट्र्याकको अन्तिम भिडन्तमा सरस्वतीले १२.१३ सेकेन्डमा दौड पूरा गरेर नयाँ राष्ट्रिय रेकर्डसहित स्वर्ण जितेकी हुन्।
सरस्वती टोकियो ओलम्पिकमा प्रतिस्पर्धा गरेकी खेलाडी समेत हुन्।
उनले लुम्बिनी प्रदेशकी निशा चौधरीलाई पछि पारिन्। निशाले १२.२२ सेकेन्डमा दौड पूरा गरेकी थिइन्।
त्यसअघि हिट चरणमा भने निशाले नयाँ रेकर्ड बनाएकी थिइन्। उनले १२.१५ सेकेन्डमा दौड पूरा गरेकी थिइन्। सो हिटमा १९ जना दौडिएका थिए।
यसअघि यो कीर्तिमान देवीमाया पनेरुको नाममा थियो। उनले सन् १९९९ को दक्षिण एसियाली खेलकुद (साग) मा १२.१९ सेकेन्डमा सय मिटर दौड पूरा गरेर कीर्तिमान बनाएकी थिइन्।
सरस्वतीले स्वर्ण, निशाले रजत जित्दा नेपाल आर्मीकी रमिता थारुले १२.२३ सेकेन्डमा निर्धारित दूरी पार गरेर कास्य हात पारिन्।