नवौं राष्ट्रिय खेलकुदअन्तर्गत महिला १० हजार मिटर दौडमा बागमती प्रदेशकी सन्तोषी श्रेष्ठले स्वर्ण जितेकी छिन्।
खुट्टामा चोट लागे पनि सन्तोषीले आफ्नी प्रतिद्वन्द्वी नेपाल पुलिसकी राजपुरा पछाईलाई पछि पार्दै वृहत् राष्ट्रिय खेलकुदमा पहिलो पटक १० हजार मिटरमा स्वर्ण जितेकी हुन्।
अन्तिम ल्यापमा राजपुरालाई पछि पारेकी सन्तोषीले ३६ मिनेट १२:३६ सेकेन्डमा दौड पूरा गरिन्।
राजपुराले ३६ मिनेट २९.४५ सेकेन्डमा दौड पूरा गर्दै राजत हात पारिन्। एपिएफकी पुष्पा भण्डारीले ३७ मिनेट ४.२ सेकेन्डमा दौड पूरा गर्दै कास्य हात पारिन्।
जितपछि आफूले घाइते खुट्टाले प्रतिस्पर्धा गरेको भन्दै राष्ट्रिय रेकर्ड बनाउन नसकेकोमा माफी मागिन्।
सन्तोषी दक्षिण एसियाली खेलकुदमा नेपालका लागि स्वर्ण जित्ने कीर्तिमानी खेलाडी हुन्। उनले १३औं सागमा नेपालका लागि १० हजार मिटरमा स्वर्ण जितेकी थिइन्।