नवौं राष्ट्रिय खेलकुदअन्तर्गत पुरुष भलिबलमा गण्डकी प्रदेशले शुक्रबार बिजयी सुरुआत गरेको छ। पोखरा रंगशालास्थित भलिबल टेक्निकल सेन्टरमा भएको खेलमा गण्डकीले वागमतीलाई ३–१ सेटमा हरायो।
यद्यपि, समूह डीमा गण्डकी र वाग्मती मात्रै रहेकोले दुवै टिमले क्वाटरफाइनल चरण प्रवेशलाई सुनिश्चित गरिसकेका छन्।
दुई टिमले समूह बिजेता बन्न प्रतिस्पर्धा गरेका हुन्। पहिलो सेट २५–२० ले परिणाम हात पारेको गण्डकीले दोस्रो सेट भने १५–२५ ले वाग्मतीलाई सुम्पियो। तेस्रो र चौंथो सेटमा गण्डकीले मौका दिएन। तेस्रो सेट २५–१८ ले जित हात पार्दा चौंथो सेट सहज प्रतिस्पर्धामा २५–१४ ले गण्डकी विजयी भयो।
शुक्रबार भएको भलिबल खेलको उद्घाटन खेलमा विभागीय टिम पुलिसले कर्णाली प्रदेशलाई ३–० को सोझो सेटमा पराजित गर्यो। साविक बिजेता पुलिसले २५–१६, २५–१२ र २५–११ को सहज जित निकालेको हो। लिग कम नकआउटको आधारमा हुने प्रतियोगितामा पुलिसले जितसँगै ३ अंक जोडेको छ।
पुरुष भलिबलको समूह एमा पुलिस र कर्णालीसहित लुम्बिनी प्रदेश रहेको छ। सहभागी ११ टिमलाई चार समूहमा विभाजन गरिएको छ। समूह बीमा त्रिभुवन आर्मी, प्रदेश १ र मधेस प्रदेश, समूह सीमा एपीएफ, एनआरएनए र सुदूरपश्चिम तथा समूह डीमा गण्डकी र वागमती प्रदेश छन्। प्रतियोगितामा समूहका शीर्ष दुई टिम क्वाटरफाइनल पुग्ने छन्।
शनिबारको पहिलो खेल एपीएफ र गैरआवासीय नेपाली संघ (एनआरएनए), दोस्रो खेल त्रिभुवन आर्मी र प्रदेश १ र तेस्रो खेल पुलिस र लुम्बिनी प्रदेशबीच हुनेछ। पुरुष भलिबलको फाइनल कात्तिक ३ मा हुनेछ।
महिला भलिबल : एपिएफ, बागमती र पुलिस विजयी
महिला भलिबलको दोश्रो दिन शुक्रबार विभागीय टिम एपिएफ, नेपाल पुलिस र बागमती प्रदेशले जित हात पारेका छन्। तीनै टिम सोझो सेटमा जित निकाल्न सफल भए।
एपिएफले कर्णालीलाई २५–६, २७–२ र २५–७ को सोझो सेटमा पराजित ग¥यो । बागमतीले प्रदेश एकलाई २५–१७, २५–१२ र २५–१२ ले हरायो । नेपाल पुलिस क्लबले लुम्बीनी प्रदेशलाई २५–१०, २५–११ र २५–१९ ले पछि पर्यो ।
शुक्रबारको खेलमा एपिएफकी पवित्रा भट्ट, बागमतीकी सलिना बुढाथोकी र पुलिसकी लक्ष्मी चन्द्रले ‘वुमन अफ म्याच’ भए।
समूह बिजेता बन्दै गण्डकी र नेपाल पुलिस क्लव क्वाटरफाइनलमा प्रवेश गरेका छन्। शनिबार कर्णाली प्रदेश र त्रिभुवन आर्मी, मधेश प्रदेश र प्रदेश एक बीच प्रतिस्पर्धा हुनेछ। कात्तिक २ गतेसम्म सञ्चालन हुने प्रतियोगितामा सात प्रदेश र तीन विभागीय टिमको सहभागिता छ।