नवौं राष्ट्रिय खेलकुदअन्तर्गत विवादित बनेको पुरुष फुटबलमा गैरआवसीय नेपाली संघ (एनआरएनए) ले प्रदेश एकलाई पराजित गरेको छ।
पोखराको गोस्टेघाटमा भएको बिहीबार भएको पुरुष फुटबलको पहिलो खेलमा खेलमा एनआरएनएले प्रदेश एकलाई २-० गोलले पराजित गरेको हो।
एनआरएनए टिममा नेपालबाटै खेलिरहेका खेलाडीलाई राखिएको भन्दै प्रदेश एकले विरोध गरेको थियो। जसका कारण खेल ढिला गरी सुरु भएको थियो।
एनआरएनए टिमबाटराष्ट्रिय खेलाडीहरू सुजल श्रेष्ट, विमल घर्तीमगर, अनन्त तामाङ, पुजन उपरकोटी, संजोक राई लगायतले खेलेका थिए।
एनआरएनएको जितमा संजोग राई र विमल घर्तीमगरले गोल गरे। संजोगले खेलको नवौं मिनेटमा गोल गर्दै एनआरएनएको खाता खोलेका थिए। समय घटाएर ७० मिनटमा झारेको प्रतियोगिताको दोश्रो गोल भने विमलले दोश्रो हाफको दशौं मिनेटमा गरेका थिए ।
पुरुष तर्फको दोश्रो खेलमा बागमतीले मधेस प्रदेशलाई २–० गोल अन्तरले पराजित गर्दै महत्वपूणै ३ अंक जोडेको छ।
बागमतीका सुनिल बलले दोश्रो हाफको चौथो मिनटमा र अन्जन बिष्टले १० औं मिनटमा गोल गर्दै टिमका लागि महत्वपूर्ण अंक जोडे।
स्याङजाको वालिङमा बिहीबार सुरु भएको महिला फुटबल प्रतियोगिताको उद्घाटन खेलमा रेखा पौडेलको ह्याट्रिक प्रेरित पुलिसले बागमती प्रदेशमाथि ५–० को जित हासिल गर्यो। टोलीका लागि निरु थापाले दुई गोल गरिन।
१७ औं मिनेटमा निरुले गोल गर्दै दिलाएको अग्रतालाई रेखाले १८औं मिनेटमा दोब्बर पारिन। त्यसको तीन मिनेटपछि दोस्रो व्यक्तिगत गोल गरेकी रेखाले २३औं मिनेटमा अर्को गोल गर्दै ह्याट्रिक पूरा गरेकी थिइन। निरुले दोस्रो व्यक्तिगत गोल मध्यान्तर हुन तीन मिनेट बाँकी रहँदा गरेकी थिइन। जितपछि पुलिसले समूह ‘ए’मा अंकको खाता खोलेको छ ।
दोस्रो खेलमा बिभागीय टिम नेपाल आर्मीले सहज जित निकालेको छ। स्याङजाको वालिङमा भएको खेलमा आर्मीले मधेश प्रदेशलाई ६–० गोल अन्तरले पराजित गरेको हो।