कञ्चनपुरको भीमदत्तनगरमा आजदेखि प्रदेश नं ७ को प्रदेशस्तरीय तेक्वान्दो छनोट प्रतियोगिता सुरू भएको छ ।
प्रतियोगितामा कञ्चनपुर, कैलाली, डोटी, डडेल्धुरा र दार्चुलाका ६० महिला तथा पुरुष खेलाडीको सहभागिता रहेको छ। जिल्ला तेक्वान्दो संघ कञ्चनपुरको आयोजनामा भएको उक्त प्रतियोगिताको उद्घाटन भीमदत्त नगरपालिकाका प्रमुख सुरेन्द्र विष्टले गरेका हुन्।
प्रतियोगिताबाट छनोट भएका खेलाडीले भैरहवामा हुने राष्ट्रिय खेलकुद परिषद च्याम्पियनसिप राष्ट्रिय प्रतियोगितामा भाग लिने तेक्वान्दो प्रशिक्षक एवं प्रतियोगिताका प्रदेश संयोजक मोहनप्रताप गुरुङले जानकारी दिए।
भीमदत्त नगरपालिकाका प्रमुख विष्टले खेलकुदको विकासका लागि नगरपालिका सदैव तयार रहेको बताए। ‘खेलकुद संरचना निर्माण गरी खेल गतिविधि अगाडि बढाउने योजना बनाएका छौँ,’ उनले भने।