नेपाली सेनाले निर्माण सुरू गरेको काठमाडौं–तराई–मधेश द्रुतमार्ग (एक्प्रेस वे) सडक आयोजनाका लागि आवश्यक पूर्वाधारसहितको सैनिक बेस क्याम्प उद्घाटन गरिएको छ।
नेपाली सेनाका बलाध्यक्ष रथी एवं अधिकार सम्पन्न निर्देशक समितिका अध्यक्ष पूर्णचन्द्र थापाले बुधबार काठमाडौंको मख्खुबेँसीस्थित निर्माण कार्यदलका लागि नवनिर्मित भौतिक पूर्वाधारको उद्घाटन गरेका थिए।
सो अवसरमा बलाध्यक्ष रथी थापाले सो आयोजनालाई नेपाली सेनाले उच्च प्राथमिकतामा राखी निर्माण कार्य अघि बढाएको बताउँदै निर्धारित समयमा नै आयोजना सम्पन्न हुने विश्वास व्यक्त गरे।
कुल ७६.२ किमी लम्बाइको द्रुतमार्ग निर्माणका लागि सेनाले सो क्षेत्रअन्तर्गत खोकना, मख्खु, कुलेखानी, महादेव, डेड्री, लानीडाँडा, बुदुने, राजटामार, अन्धेरी र निजगढ गरी १० स्थानमा सैनिक बेसक्याम्प निर्माण गरी आयोजनाको काम एकैसाथ द्रुत गतिमा अघि बढाउने योजना बनाएको छ। जसमध्ये पाँच बेसक्याम्पको निर्माण अन्तिम चरणमा रहेको सेनाले जनाएको छ।