अख्तियार दुरुपयोग अनुसन्धान आयोगले पाँच लाख रुपैयाँ घुस प्रकरणमा नाम जोडिएपछि महानगरीय प्रहरी प्रभाग बालाजुका प्रहरी नायब उपरीक्षक नवीनकृष्ण घिमिरेलाई सोधपुछका लागि नियन्त्रणमा लिएको छ।
आयोगले यही असोज १० गते प्रहरी वृत्त बालाजुमा कार्यरत प्रहरी सहायक निरीक्षक चन्द्रसिंह भाट र प्रहरी जवान पुष्कर शाह तथा आफूलाई प्रहरी दाबी गर्दै हिँड्ने विनोद थापालाई पाँच लाख रुपैयाँ घुससहित पक्राउ गरेको थियो।
पक्राउ परेका भाटले आयोगसँगको बयानमा प्रहरी नायब उपरीक्षक भण्डारीको पनि संलग्नता रहेको बताएपछि घिमिरेलाई नियन्त्रणमा लिएको हो। आयोगका प्रवक्ता जीवराज कोइरालाले घुस प्रकरणमा नाम जोडिएपछि सोधपुछका लागि बोलाइएको बताए।