विद्युत् प्राधिकरणका मिटर रिडरले नियमित ग्राहकको घरघरमा रिडिङ गर्न नजाँदा बारबर्दिया–१ का ग्राहक विद्युत् खपत गरेकोभन्दा बढी रकम तिर्न बाध्य भएका छन् ।
बारबर्दिया नगरपालिका–१ दाङपुरमा विद्युतको मिटर रिडिङ गर्न असार र साउन महिनामा नगएपछि भदौ महिनामा असार र साउनको २५ प्रतिशत जरिवानासहित तीन महिनाको विद्युत् महशुल बुझाउन बाध्य भएका हुन्। मिटर रिडर नियमित नआउँदा धेरैपटक जरिवानासहित विद्युत् खपतभन्दा बढी रकम तिर्न परेको दाङपुरका विद्युत् ग्राहक जगतराम थारुले बताए।
विगतका महिनामा मासिक २ सय रुपैयाँका दरले बुझाउँदै आएकोमा यस पटक बुझाउन जाँदा जरिवानासहित दुई महिनाको एक हजार २५८ रुपैयाँ ७५ पैसा बुझाउनु परेको थारुले दुखेसो पोखे।
जगतरामले आफ्नो टोलका करीब २५ घरको बिल लिएर विद्युत् महशुल बुझाउन गएको बताउँदै, सबैको बिलमा रहेको रकम करीब चार हजार रुपैयाँ रहेकोमा जरिवानासहित नौ हजारभन्दा बढी नै बुझाउनु परेको बताए। नियमित सिएफएल तथा एलइडी बल्व बाल्दा पनि कुनै महिनामा १ सयभन्दा कमको बील आउने र कुनै महिनामा एक हजार रुपैयाँभन्दा बढी विद्युत् महशुल तिर्न परेको दाङपुरकै गुरुप्रसाद चौधरी बताउँछन्। विद्युत मिटर पढ्नेले लापर्बाही गरेर बिल काट्नाले र कुनै बेला आफ्नो घरमै वा ग्राहकको घरमा नपुगी अन्दाजको भरमा मिटर पढ्ने गरेको ग्राहकको आरोप पनि रहेको छ।
यस्तै, दाङपुरकै ग्राहक रजन्तु थारुको घरको मिटरमा गत जेठ महिनामा मिटर रिडिङ गर्दा एक हजार ६२ युनिट हालको अंक थियो तर दुई महिनापछि मात्र भदौ महिनामा रिडिङ गरेको बीलमा साविक अंक एक हजार ८२ थियो र हालको एक हजार १४६ रहेको छ । यो अंक हेर्दा अघिल्लो महिनामा बिल काटेको जस्तो देखिने तर त्यो बिल ग्राहकसम्म नपुगेकाले घरमै बसेर बिल काटेको होकी भन्ने अनुमान लगाउन सक्ने ठाउँ रहेको रजन्तु थारुले बताए।
विद्युत् मिटर पढ्न आउने रिडरसँग नियमित गुनासो गर्दा बिल काट्न नआए पुरानो बिल लिएर विद्युत् महशुल बुझाउन जानु होला भन्ने गरेको ग्राहक बताउँछन्।
मिटर रिडरको भनाइ अनुसार विद्युत् महशुल बुझाउन जाने हो भने, दिनभरिको समय दिएर मधुवन नगरपालिकाको कुसुम्बा बजार रहेको विद्युत् महशुल बुझाउने शाखामा २५ किलोमिटरको दूरीमा बबई नदी तरेर जानुपर्ने वा सदरमुकाम गुलरिया ३५ किलोमिटरको बाटो भएर दिनभरि लाइनमा बस्नुपर्ने ग्राहकको भनाइ रहेको छ।
हरेक महिनामा १ सय रुपैयाँ विद्युत् महशुल बुझाउन ५ सय रुपैयाँभन्दा बढी खर्च गरेर जानुपर्ने बाध्यता रहेको बारबर्दिया नगरपालिका–१ का विद्युत् सेवाग्राहीको भनाइ रहेको छ। अब स्थानीय तह भइसक्दा पनि महशुल बुझाउन सदरमुकाम वा शाखा कार्यालयमा जानुपर्ने बाध्यता रहेको छ।
यसलाई नगरपालिका वा वडा कार्यालयमा नै विद्युत् महशुल बुझाउने व्यवस्था मिलाउन र विद्युत् मिटर पढ्नेले नियमित र सत्यतथ्यरुपमा बिल काटिदिन पनि ग्राहकले माग गरेका छन्।