गौतम बुद्ध अन्तरराष्ट्रिय विमानस्थल निर्माणको जिम्मेवारी पाएको चिनियाँ ठेकेदार कम्पनी नर्थवेष्ट सिभिल एभिएशनले कामै नगरेको खुलासा भएको छ।
आयोजना प्रमुख ओम शर्माले चिनियाँ ठेकेदार कम्पनी नर्थवेष्टले फिल्डमा काम नगरेकै कारण आयोजन निर्माणको कामलाई अघि बढाउन कठिनाई भइरहेको पनि स्पष्ट पारेका छन्।
व्यवस्थापिका संसदको सार्वजनिक लेखा समितिको बुधबारको बैठकमा बोल्दै उनले आयोजना निर्माणको जिम्मेवारी पाएको ठेकेदार लगायतका कन्सल्टयान्टहरूले काम नगर्ने गरेको गुनासो पनि गरेका छन्।
आयोजना प्रमुख शर्माले चिनियाँ ठेकेदार कम्पनीलाई भाषा बुझाउन कठिनाई भएका कारण पनि आयोजनाको काम अघि बढाउन कठिनाई हुन गएको पनि उल्लेख गरे। उनले आयोजनामा कार्यरत ठेकेदार कम्पनीहरूको काम कार्वाही चित्तबुझ्दो नभएका कारण पुनर्विचार गर्न सरकारलाई आफूले पटक -पटक आग्रह गर्दै आएको जानकारी पनि समितिलाई गराए।
राष्ट्रिय गौरवको यो आयोजना समयमै सम्पन्न गर्न समितिले सरकारलाई पटक /पटक सचेत गराउँदै आएको छ ।