दुई वर्षअघि आएको भूकम्पले भत्किएर पुनर्निर्माण गरिएका लमजुङका १४ घर समुदायमा हस्तान्तरण गरिएको छ।
राइनास–९, मोहोरियाकोटमा निर्माण गरिएका १४ घर, एक सामुदायिक भवन र एक आरोग्य भवन गरी १६ वटा भवन राष्ट्रिय योजना आयोगका सदस्य सुनिलबाबु श्रेष्ठको आतिथ्यतामा आयोजित कार्यक्रममा सम्बन्धित घरधनीलाई हस्तान्तरण गरिएको हो। घर भत्किएर बिचल्लीमा परेकाहरू नयाँ घर पाएपछि खुशी भएका छन् ।
‘दुई वर्षसम्म चौरमा पाल टाँगेर बस्यौँ, गोठमा पकायौँ, अहिले नयाँ घर पाउँदा निकै खुशी लागेको छ’, स्थानीय दिलमाया गुरुङले भने।
अमेरिकी नागरिक नतासा वाजनियाकको विशेष सहयोगमा उक्त घर तथा भवन निर्माण भएका हुन् । पुनर्निर्माणका लागि ६०।४० को अवधारणाअनुसार नतासाको एक करोड ५० लाख रुपैयाँ सहयोग रहेको बस्ती पुनर्निर्माण संयोजक एवं सर्वोदय सेवाश्रमका अध्यक्ष कृष्णराज ओलियाले बताए।
भत्किएका घर पुनर्निर्माण गरेसँगै व्यावसायिक होमस्टे पनि सुरू गरिएको छ । निर्माण भएका १४ घरमा होमस्टे सुरू गरिएको हो ।