डीआईजी र इन्सपेक्टरको नाममा रकम उठाउने काठमाडौं संकरापुर नगरपालिकाकी ३० वर्षिया नानीमैया गुरुङ प्रहरी फन्दामा परेकी छन्।
जुवा खेलेर कारवाहीपछि छाडिएका ५ जनालाई प्रहरीलाई रकम दिने सर्तमा आफूले छुटाएको भन्दै पीडितबाट रकम उठाउने गुरुङलाई महानगरीय प्रहरी वृत्त नयाँबसपार्कले बिहिबार काठमाडौंको गोंगबुबाट पक्राउ गरेको हो।
गोगंबुस्थित होटल गणपतिमा काम गर्ने २ जना कर्मचारी छुटाउन गएका होटल संचालक नवराज पाण्डेसँग गुरुङले डीआईजी छविलाल जोशी र प्रहरी निरीक्षक हरीहर सुनुवारलाई दिनुपर्ने भन्दै ६५ हजार रुपैयाँ माग गरेकी थिईन्।
‘तपाईका कर्मचारी छुटाउन मैलै रकम कबुलेकी छु, १५ हजार डीआईजी जोशीलाई पठाइसकेकी छु बाँकी ५० हजार ईन्सपेक्टरलाई दिन्छु, नदिए लागूऔषध हालेर फसाईदिने भन्दै गुरुङले मलाई तर्साइन्, उनले झटारोको भरमा रकम उठाएको भन्ने शंका लागेर मैलै प्रहरीलाई खबर गरेको हुँ,’ पीडित पाण्डेले भने, ‘रकम पाइएन भने, ब्राउनसुगरको धुलो हालेर फसाउने सल्लाह भएको छ, विचार गर भनिन्।’
पक्राउ परेकी गुरुङले प्रहरीको नाम बेचेर रकम उठाएको प्रहरी वृत्त नयाँबसपार्कका प्रमुख प्रहरी निरीक्षक हरीहर सुनारले बताए।
‘५ जना जुवाडेलाई हामीले नियन्त्रणमा लिएका थियौ, उनीहरू कोही ट्याक्सी चालक कोही होटलका मजदूर थिए, सामान्य कारवाहीपछि हामीले छाडेका थियौं, उनीहरू मध्येका एक जना गुरुङका आफन्त थिए, तिनैलाई छुटाउन भन्दै आएकी गुरुङले बाँकीलाई पनि मैले छुटाएको भन्दै बाहिर निस्केर रकम बार्गेनिङ गरेर मागेको अनुसन्धाबाट खुल्यो’ उनले भने।
गुरुङले बसपार्क क्षेत्रमा यस्तै बिचौलीयाको काम गर्ने गरेको प्रहरी अनुसन्धाबाट खुलेको छ।
प्रहरी कार्यालयमा जाने प्रहरीसँग चिनजान गरेको जस्तो देखाउने, थुनामा रहेका आफन्तसँग गएर आफूले छुटाईदिने भन्ने र छुटेकालाई मैले छुटाएको हो, रकम नदिने फेरी फसाईदिने भन्दै रकम असुल्ने गरेको अनुसन्धाबाट प्रहरी अनुसन्धानबाट खुलको छ।