सुर्नया गाउँपालिका–६ मा रहेको तेस्रो सुर्नयागाड लघुजलविद्युत् आयोजना बन्द भएको छ । आयोजनाको उपकरणमा खराबी आएपछि विद्युत् सेवा अवरुद्ध भएको आयोजना सञ्चालक समितिले जनाएको छ ।
बाह्र किलोवाट क्षमताको उक्त लघुजलविद्युत् आयोजना गएको एक सातादेखि बन्द रहेको सञ्चालक समितिका अध्यक्ष डम्मरदत्त अवस्थीले बताए।आयोजनाको उपकरण बिग्रिएको र बनाउन पाँच लाख रुपैयाँभन्दा बढी खर्च लाग्ने तर सञ्चालक समितिसँग मर्मतका लागि आवश्यक रकम नहुँदा मर्मत गर्न नसकिएको उनले बताए।
लघुजलविद्युत् आयोजना बन्द भएसँगै सुर्नया गाउँपालिका–६ का करीब सय घरधुरी अन्धकारमा बस्न बाध्य भएका छन् । विद्युत् सेवा अवरुद्ध हुँदा मोबाइल चार्ज गर्नदेखि लिएर अन्य काममा समेत समस्या भएको स्थानीय बासिन्दाले बताएका छन् ।
यस्तै, सुर्नया गाउँपालिका–६ मा रहेका सुर्नयागाड लघुजलविद्युत् आयोजना बन्द भएको दुई वर्षभन्दा बढी भए पनि सञ्चालनमा आउन सकेको छैन । स्थानीयस्तरमा लघुजलविद्युत् आयोजनाको व्यवस्थापन गर्न नसक्दा लघुजलविद्युत् आयोजना बन्द भएको हो । पछिल्लो समयमा व्यवस्थापनको अभाव, आर्थिक समस्या लगायतका कारणले जिल्लाभरिका लघुजलविद्युत् आयोजना धमाधम बन्द हुँदै गएका छन्।