चितवन राष्ट्रिय निकुञ्जको जमिनमुनि गाडीको तारमा आएको खराबीका कारण दक्षिण चितवनको माडी नगरपालिकामा एक सातादेखि विद्युत् सेवा अवरुद्ध छ ।
विद्युत् नहुँदा स्थानीयवासीले यसपालि अन्धकारमै दशैं मनाएका छन् । आजसम्म पनि विद्युत् सेवा सुरू नहुँदा स्थानीयवासी पीडित भएको माडीका गोविन्द न्यौपानेले जानकारी दिए । यहाँ चार हजारभन्दा बढी उपभोक्ता छन् ।
नेपाल विद्युत् प्राधिकरण भरतपुर वितरण केन्द्रले समस्या पत्ता लगाउने यन्त्र भारतबाट मगाउनुपर्ने भएकाले विद्युत् सेवा सुरू गर्न समय लाग्ने जनाएको छ ।
केन्द्रका इञ्जिनियर राजेन्द्र पौडेलका अनुसार यही असोज १२ गते तारमा आएको खराबीका कारण माडीमा विद्युत् बन्द भएको हो । दशैं बिदाका कारण विद्युत् सञ्चालनको प्रयास सुरू हुन सकेको छैन ।
विद्युत् सेवा अवरुद्ध हुँदा यहाँ रहेका चार हजारभन्दा बढी ग्राहक प्रभावित भएका छन् । विद्युत् नहुँदा यहाँको टेलिफोन सेवामा समेत असर गर्ने गरेको न्यौपानेले बताए।
अघिल्लो वर्ष कात्तिकमा परीक्षण सफल भई मंसिरबाट विद्युत् सेवा सुरू भएको थियो । विद्युत् बालेपछिको पहिलो दशैंसमेत उपभोक्ताले अन्धकारमा मनाउनुपरेको छ ।
यसअघि पनि पटक–पटक विद्युत् सेवा बन्द हुँदा भारतबाट मेसिन ल्याएर खराबी पत्ता लगाई सेवा दिइएको थियो । उक्त मेसिन नेपालमा नभएकाले भारतबाट ल्याउनुपर्ने बाध्यता रहेको इञ्जिनियर पौडेलले बताए ।
माडीमा २०५७ सालतिर एक परियोजनाले विद्युत् सञ्चालनका लागि काम शुरु गरेको थियो । सो समयमा पोल गाडेर विद्युत् तार लगाइएपछि चितवन निकुञ्जका कारण विद्युत् सञ्चालन हुन नसक्दा तार र पोल जीर्ण भयो ।
भारतीय सैनिक कल्याणकारी कोष र विद्युत् प्राधिकरणको लगानीमा २०६७ सालमा यहाँ भरतपुर—चनौली—माडी ३३ केभी प्रसारण तथा ग्रामीण विद्युतीकरण आयोजनाले पुनः विद्युतीकरणको काम थालेको थियो ।
विसं २०७३ कात्तिकमा परीक्षण सफल भएर मंसिरमा विद्युत् सेवा सुरू भएको यहाँका बासिन्दा पटक–पटकको विद्युत् समस्याका कारण पीडित हुँदै आएका छन् । निकुञ्जमा करीब सात किमी क्षेत्रमा जमिनमुनिबाट विद्युतको तार बिच्छ्याइएको छ ।