बर्दियामा अनिश्चतकालीन कर्फ्यु अहिलेसम्म जारी छ।
दुई समुदायबीचको सांस्कृतिक कारणले झडपको अवस्था आएको र अहिले विस्तारै वातावरण सहज बन्दै गएपनि मङ्गलबार बिहान ९ बजेसम्मको लागि कर्फ्यु आदेश जारी गरिएको प्रमुख जिल्ला अधिकारी नारायणप्रसाद भट्टराईले जानकारी दिए।
‘दुवै पक्षको सुरक्षाको लागि कर्फ्यु जारी गरिएको हो’ उनले भने ‘भोलिसम्म स्थिति सामान्य भए भोलि बिहान ९ बजेपछि कर्फ्यु हटाइने छ।’
झडपमा घाइते भएकालाई सामान्य उपचारपछि घर पठाइएको उनले जानकारी दिए ।
बर्दियाको मोहम्मदपुर गणेशपुरमा हिन्दु र मुस्लिम समुदायबीच आइतबार बेलुका ८ः३० देखि १२ बजेसम्म झडप हुँदा तनाव उत्पन्न भएपछि प्रशासनले आजबाट कर्फ्यु आदेश जारी गरेको थियो ।
गुलरिया नगरपालिका–११ नम्बर वडामा रहेको घाटमा हिन्दुहरूको दुर्गा(दशैंको टिका) र मुस्लिमहरूले ताजिया दहन गर्ने परम्परा रहिआएको र आइतबार दुवै समुदाय एकपटक त्यहाँ पुग्दा झडप सुरू भएको भट्टराईले जानकारी दिए।
एउटै ठाउँमा दुई समुदाय भेला हुने अवस्था आएपछि प्रशासनले त्यहाँका हिन्दुहरूलाई शनिबार र मुस्लिम समुदायलाई आइतबारमात्र दहन गर्ने व्यवस्था मिलाएको भएपनि बाँकेबाट हिन्दुहरू एक्कासी पुगेपछि झडपको अवस्था उत्पन्न भएको उनको भनाइ छ।
‘हामीले हिन्दु र मुस्लिम समुदायलाई फरक फरक दिनमा विसर्जन गर्ने व्यवस्था मिलाएका थियौं’ उनले सेतोपाटीसँग भने,‘तर मुस्लिम समुदाय रहिरहेको अवस्थामा बाँकेतिरबाट १०/१२ गाडीमा हिन्दुहरू पनि पुगेपछि झडपको अवस्थ उत्पन्न भयो।’
यो पनि पढ्नुहोस्
हिन्दु–मुस्लिम झडपपछि बर्दियामा कर्फ्यु