गोरखा अस्पतालमा विगत दश वर्षपहिले खरीद गरिएको अत्याधुनिक एक्स–रे मेसिन प्रयोगमा ल्याउन नसक्दा बिरामीले सेवा पाएका छैनन् ।
पाँच सय एमए क्षमताको उक्त एक्स–रे मेसिन थ्रिफेज विद्युत् लाइन नहुँदा प्रयोगमा ल्याउन नसकिएको अस्पतालले जनाएको छ ।
एक्स–रे मेसिन सञ्चालनमा ल्याउन थ्रिफेज लाइनसहित एउटा ट्रान्सफर्मर अस्पताल परिसरमै राख्नुपर्ने भए पनि ट्रान्सफर्मर खरीद गर्न नसक्दा एक्स–रे सञ्चालनमा ल्याउन नसकिएको हो ।
करीब ५० लाख रुपैयाँ लगानीमा अस्पतालले एक्स–रे मेसिन ल्याएको भए पनि बिरामीले सेवा नपाएका हुन् भने एक्स–रे गर्नका लागि निजी अस्पताल वा चितवन तथा काठमाडौंका अस्पताल धाउनुपर्ने बाध्यता रहेको छ।
अस्पतालका सूचना अधिकारी कृष्ण ढकालका अनुसार अहिले अस्पतालमा एक सय एमए क्षमताको पुरानो मेसिनबाट एक्स–रे गर्नुपर्ने बाध्यता छ । गोरखा अस्पताल १५ श्ययाबाट ५० शय्यामा विस्तार भए पनि गुणस्तरीय सेवा दिन नसकेको बिरामी गुनासो गर्छन् । गोरखा नगरपालिकाका प्रमुख राजनराज पन्तले अस्पतालको एक्स–रे मेसिन सञ्चालनमा ल्याउन आवश्यक पर्ने विद्युतका लागि ट्रान्सफर्मर खरीद गर्न नगरपालिकाले पाँच लाख रुपैयाँ बजेट विनियोजन गरेको बताए ।