महानगरीय ट्राफिक प्रहरी महाशाखाका प्रवक्ता उमेश रञ्जितकारका अनुसार गत भदौ २० गतेदेखि उपत्यकाबाट बाहिरिएका यात्रुको संख्यालाई दशैंका लागि बाहिरिनेको सूचीमा राखिएको छ । उपत्यकाबाट बाहिरिनेको संख्याभन्दा भित्रिनेको संख्या भने निकै न्यून छ ।
वडादशैंका मुख्य दिन नजिकिँदै गर्दा उपत्यकाका चार नाका थानकोट, साँगा, दक्षिणकाली र बालाजुबाट दिनहुँ राजधानीमा पेशा, व्यवसाय र अध्ययनका लागि बसेकाका साथै विदेशबाट फर्किएकाहरू धमाधम बाहिरिरहेका छन् । विशेषगरी थानकोट नाका हुँदै बाहिरिने यात्रुले लामो समय ट्राफिक जामको समस्या भोग्नु परिरहेको छ ।
प्रवक्ता रञ्जितकारले सडक विस्तारका क्रममा भत्काइएको संरचनाको कारण सो क्षेत्रमा जाम भइरहेको बताए। उनले भने, ‘सम्झौताको काम सुरू नहुँदै हामीले आग्रह गरेर ठेकेदारलाई कलंकीबाट थानकोटसम्मको सडकका खाल्डाखुल्डी पुर्न लगार्यौँ, अझै सडक सफा नभएकाले केही समस्या परेको छ।’
दशैंमा बाहिरिने यात्रुलाई ध्यानमा राखी उपत्काका १२ ठाउँमा ट्राफिक प्रहरीले नागरिक सहायता कक्ष सञ्चालन गरेको छ । सो कक्षबाट यात्रुलाई कुनै समस्या परे सहयोग गर्ने, जानकारी दिने, सवारी भाडा अनुगमन गर्ने लगायत काम भइरहेको छ ।
यस्तै सवारी साधनको बढी चाप हुने नयाँसडक, बसपार्क, कलंकीलगायत स्थानमा थप जनशक्ति परिचालन गरिएको प्रहरीको भनाइ छ । चाडपर्वमा मादकपदार्थ सेवन(मापसे) गरी सवारी साधन चलाउनेको संख्या बढ्ने भएकाले मापसे जाँचलाई तीव्रता दिइएको छ । वरिष्ठ उपरीक्षक रञ्जितकारले अरु समयमा साँझ मात्रै हुने मापसे जाँच चाडपर्वको अवधिभर दिनभर पनि हुने जानकारी दिए । यस वर्ष यही असोज १४ गते विजयादशमी परेको छ ।
कालोबजारी गर्ने ३० पक्राउटिकटको कालोबजारी गर्ने र तोकिएकोभन्दा बढी भाडा लिने ३० सवारी साधनलाई कारबाही गरिएको छ ।
बढी रकम लिनेलाई लिएको रकम यात्रुलाई फिर्ता गर्न लगाई आवश्यक कानूनी कारबाही गरिएको रञ्जितकारले बताए। चाडपर्वमा यात्रुबाट बढी भाडा असुल्ने र टिकटको कालोबजारी गर्नेलाई निगरानीमा राखिएको ट्राफिक प्रहरीको भनाइ छ ।