सिन्धुपाल्चोकको चौतारा साँगाचोकगढी नगरपालिका– १४ को झोलुङ्गेस्थित माझी बस्तीमा एकीकृत नमूना बस्ती निर्माणका लागि स्वेताश्री फाउण्डेशनले आर्थिक सहयोग प्रदान गर्ने भएको छ ।
नायिका स्वेता खड्काले स्वर्गीय पति एवं नायक श्रीकृष्ण श्रेष्ठको स्मृतिमा खोलेकी स्वेताश्री फाउण्डेशनमार्फत सडक, बत्ती, बाल उद्यान, बायोग्यास प्लाण्ट, सामुदायिक भवन लगायतमा दुई करोड रुपैयाँ सहयोग प्रदान गरिने भएको हो ।
भूकम्पपछि टहरामा बस्दै आएका माझी समुदायका लागि एक सामुदायिक भवनसहित ६३ घर निर्माण गर्न लागिएको छ । हाल निर्माणाधिन १५ घर आगामी तिहारसम्म सम्पन्न गरिसक्ने फाउण्डेशनका सचिव यज्ञराज कार्कीले बताए।
एकीकृत बस्ती निर्माण गर्न भूकम्पको पहिलो किस्ताबापतको ५० हजार रुपैयाँ अनुदान सबैले समितिकै नाममा बैंक खाता खोली जम्मा गरिसकेका छन् । प्रत्येक घर सात लाख रुपैयाँको लागतमा बन्ने र पुनर्निर्माण प्राधिकरणबाट दिइने तीन लाख रुपैयाँ अनुदान अपुग भएपछि दुई प्रतिशत ब्याजमा चौतारास्थित लक्ष्मी बैंकबाट चार लाख रुपैयाँ ऋण उपलब्ध गराइने भएको छ । एक वर्षको अवधिमा एकीकृत बस्ती सम्पन्न गर्ने लक्ष्य रहेको छ ।
बस्तीमा रहेको सामुदायिक भवन २० लाख रुपैयाँको लगानीमा बंगलादेशस्थित ढाका क्लब लिमिटेडले बनाइदिने भएको छ । बस्तीको लागि बायोग्यास प्लाण्ट र शौर्य ऊर्जाको लागि वैकल्पिक ऊर्जा प्रवर्द्धन केन्द्रले व्यवस्था गरिदिने भएको छ । एक हजार लिटर क्षमताको ६५ वटा पानी ट्याङ्की काभ्रे निवासी चक्र तामाङले फाउण्डेशनमार्फत सहयोग उपलब्ध गराउने सचिव कार्कीले बताए ।
नायिका खड्काको स्वर्गीय पति श्रेष्ठको मूल घर बाह्रबिसे नगरपालिका– ७ घुम्थाङमा पर्छ ।