काभ्रेपलाञ्चोकको पाँचखाल नगरपालिका–११ खरेलथोकमा स्थानीयवासीले गुठी जग्गा खारेजीको माग गरेका छन् ।
वर्षौंदेखि जोतभोग गरेको जग्गाको तिरो तिर्न कठिनाइ भएकाले पुनर्निर्माणका लागि गुठी जग्गामा घर बनाउन पाँच हजार रुपैयाँदेखि १० हजार रुपैयाँसम्म राजस्व तिनुपर्ने बाध्यता रहेको स्थानीय बासिन्दाले बताए ।
‘गुठीको जग्गाको प्रतिरोपनी २ सय रुपैयाँ तिर्न सक्ने अवस्थामा हामी छैनौँ, यो खारेज गर्नुपर्छ,’ पाँचखाल नगरपालिका–११ का पुष्पबहादुर श्रेष्ठले भने । गुठीको जग्गामा जबर्जस्ती सम्झौता गर्न लगाएर पुनर्निर्माणका लागि पहिलो र दोस्रो किस्ताको रकम लिएपनि तेस्रो किस्ताबापतको रकम नआउने स्थिति रहेको उनले बताए। तत्कालीन राणाको श्रीमती दमन्तादेवीको नाममा भएको गुठीको जग्गामा आफूले जोतभोग गरेको श्रेष्ठले बताए।
पाँचखाल नगरपालिका–११ का रमेश खरेलले गुठीको जग्गा अधिकांश पाखो डाँडा रहेको उल्लेख गर्दै रैकर जग्गाको जति तिरो हुन्छ त्यति नै तिरो गुठी जग्गाको पनि हुनुपर्ने माग गरे। ‘एक रोपनी जग्गाको ३० पाथी धान तिरोस्वरुप तिर्नुपर्छ तर धेरैजसो खोलाले बगाइदिन्छ अनि कसरी तिरो तिर्न सकिन्छ,’ उनले भने ।
सो क्षेत्रमा व्यक्तिगत गुठी, मन्दिर गुठी र निजी गुठीका गरी ३ सय घर परिवारको बसोबास रहेको छ । तर उनीहरूलाई आफू कस्तो जग्गा र कसको जग्गामा बसेको भन्ने विषयमा जानकारी छैन। ‘एक वर्ष एउटालाई तिरो तिर्छौं, अर्को वर्ष अर्कोलाई तिर्छौं,’ पाँचखाल नगरपालिका–११ का नवराज सेंढाइले भने।
पाँचखाल नगरपालिका–११ का वडाध्यक्ष शिवशरण लामाले सरकारले गुठी जग्गाको तिरोको विषयमा स्पष्ट नीति ल्याउनुपर्नेमा जोड दिँदै गुठी जग्गालाई पनि रैताने गर्न समस्या हुने बताए।
भूमि अधिकार मञ्च, काभ्रेपलाञ्चोकका अध्यक्ष रामबहादुर तामाङले गुठी जग्गाको तिरो तिरेको रसिद माग गर्न आग्रह गर्दै स्थानीय निकायले भूमिसम्बन्धी समस्या समाधान गर्नुपर्ने बताए । पाँचखालमा गुठी समस्याबाहेक सुकुम्बासी र खाँद जग्गाको समेत समस्या रहेको बताइएको छ ।