विसं २०७२ वैशाख १२ गतेको भूकम्पबाट क्षतिग्रस्त काष्ठमण्डप (मरु सतः) को पुनर्निर्माण कार्य अझै सुरू हुन सकेको छैन ।
विश्वलाई नै नेपालको छुट्टै परिचय दिलाउने काष्ठमण्डप झण्डै एक हजार ३०० वर्ष पुरानो रहेको छ । काष्ठमण्डपको क्षतिग्रस्त भएसँगै काष्ठमण्डपलगायत यो र योसँग जोडिएको अमूर्त सम्पदा पनि ध्वस्त भएको थियो ।
काष्ठमण्डप पुनर्निर्माण अभियानले झण्डै डेढ वर्षदेखि जनस्तरबाट नै काष्ठमण्डपको पुनर्निर्माण अभियानमा जुटिरहेको छ ।
काष्ठमण्डप पुनर्निर्माण अभियानका अध्यक्ष वीरेन्द्रभक्त श्रेष्ठले काष्ठमण्डपको पुनर्निर्माण कार्य जनस्तरबाट नै हुनुपर्ने आफ्नो स्पष्ट अडान रहेको तथा विदेशी मुलुकबाट धन ल्याएर यसको निर्माण गर्ने सम्बन्धमा आफ्नो विमति रहेको बताए ।
काष्ठमण्डप पुनर्निर्माणका लागि करोडौँ रुपैयाँ लाग्न सक्छ यो जनस्तरबाट उठाउन सक्छ कि सक्दैन भन्ने जिज्ञासा राख्दा उनले भने, ‘काष्ठमण्डप पुनर्निर्माणका लागि जनताबाट मज्जाले पैसा उठ्नेछ।’ यसमा चिन्ता गर्नुपर्ने आवश्यकता छैन । यसको पुनर्निर्माणका लागि विदेशबाट पैसा नलिने प्रतिबद्धता अभियानको छ ।
काष्ठमण्डपको स्थितिमा उनले थपे, ‘काष्ठमण्डपभित्रको जग एक हजार ३०० वर्ष पुरानो छ । यसमा रहेको चारवटा पिलर (खम्बा) एक हजार वर्ष पुरानो छ । उत्खननका क्रममा मिलेकोे समयकाल र सातौँ शताब्दीमा काष्ठमण्डपको निर्माण कार्य लीलाबज्रले निर्माण गरेको भनी थ्यासफूमा उल्लेख भएको भनी बौद्धविद्वान यज्ञमानपति बज्राचार्यको भनाइ अध्ययनका क्रममा मिल्न आएकाले यसलाई आधार मानिएको अध्यक्ष श्रेष्ठले बताए।
अर्को प्रसंगमा उनले काठमाडौं महानगरपालिकासँग दक्ष जनशक्ति नभएको र पुरातत्व विभागले उपलब्ध गराएको नक्सा पनि काष्ठमण्डपको पुनर्निर्माणका लागि पर्याप्त नभएकाले परम्परागत वास्तुकलालाई मिश्रण गरेर तथा जनता तथा स्थानीय बासिन्दाको राय, सल्लाह लिई तयार गर्नुपर्ने आवश्यकता औँल्याए । त्यसको विरोध मात्र आफूहरूले गरिरहेको बताए।
श्रेष्ठले काठमाडौं महानगरपालिका तथा पुरातत्व विभागसँग पनि सहकार्य गर्ने आफ्नो स्पष्ट दृष्टिकोण रहेको बताए।
सो अभियानअन्तर्गत उडाय समाज, राजकर्णीकार समाज तथा नेपाल मण्डलसहित थुप्रै संस्थासँग मिलेर नेवा सभ्यताको प्रतीक काष्ठमण्डपको पुनर्निर्माण अभियानमा विदेशी पैसाबिना नै निर्माण सम्पन्न गर्ने प्रतिबद्धता उनले व्यक्त गरे। रासस