शिक्षा राज्यमन्त्री शेषनाथ अधिकारीले अपांगता भएका केही विद्यार्थीलाई छात्रवृत्ति तथा केही अपांगमैत्री आवासीय विद्यालय निर्माणका लागि सरकारले तत्काल ६५ लाख रुपैयाँ छुट्ट्याएको बताएका छ ।
नेत्रहीन युवा संघ नेपालको पाँचौँ साधारणसभाको उद्घाटन गर्दै उनले दृष्टिविहीन विद्यार्थीलाई चित्र, गणित र विज्ञानका विषयमा अध्ययन गर्न कठिनाइ रहेकाले पाठ्यक्रममा सुधार गर्नुपर्नेमा जोड दिए ।
सो अवसरमा नेपाल राष्ट्रिय शिक्षक संघका अध्यक्ष बाबुराम थापाले दृष्टिविहीनलाई लक्ष्य विद्यालय तथा कलेजमा पाठ्यक्रमको विकास गर्नुपर्नेमा जोड दिए। राष्ट्रिय अपांग महासंघका महासचिव राजु बस्नेतले अपांगता भएकाहरूलाई शिक्षासम्बन्धी नेपालले गरेको प्रतिबद्धतानुसारको व्यवस्थाको माग गरे।
संघका अध्यक्ष कलाधर भण्डारी, महासचिव रामचन्द्र गैरे, अपांग महिला संघका अध्यक्ष निर्मला धिताल, नेत्रहीन संघका अध्यक्ष रमेश पोखरेललगायतले दृष्टिविहीन तथा न्यून दृष्टिविहीन अपांगता भएकाहरूका लागि शिक्षामा पहुँच बढाउनुपर्नेमा सहभागीले सुझाव दिए।