चालू आवका लागि महाकाली नगरपालिकाले करीब ४४ करोड रुपैयाँ बराबरको आयव्यय विवरण प्रस्तुत गरेको छ ।
नगर प्रमुख हंसराज भट्टको अध्यक्षतामा आज बसेको नगरसभामा उपप्रमुख सुना बोहराले विभिन्न ५२ वटा शीर्षकका लागि ४३ करोड ७१ लाख १९ हजार ९ सय ४ रुपैयाँ विनियोजन गरिएकामा सरकारबाट २९ करोड ३५ लाख २७ हजार रुपैयाँ प्राप्त भएको जानकारी दिए ।
महाकाली नगरपालिकामा प्रत्येक बस्ती सडक सञ्जालमा
महाकाली नगरपालिकाका प्रत्येक बस्ती सडक सञ्जालमा जोडिने भएका छन् । प्रत्येक वडा र बस्तीसम्म सडक विस्तार गर्ने गरी नगरपालिकाले चालू आवको नीति र कार्यक्रम सार्वजनिक गरेको हो ।
नगरपालिकाका सबै बस्तीमा सडक सञ्जाल जोड्न नगरयातायात गुरुयोजना निर्माण गरी कार्यान्वयन गरिने भएको छ । गुरुयोजना निर्माणका लागि चालू आवमा पाँच लाख रुपैयाँ विनियोजन गरिएको छ ।
यस्तै, प्रत्येक वर्ष प्रत्येक वडामा कम्तीमा तीनवटा काठे पुल विस्थापन गरी झोलुंगे तथा पक्की पुल बनाइने भएको छ ।
नगरक्षेत्रमा बन्ने व्यक्तिगत तथा सार्वजनिक भवनलगायतका संरचनाको अनिवार्य नक्सापास गर्ने तर यसअघि निर्माण भएका संरचनाको हकमा भने चालू आवभित्रमा नक्सापास गर्न आए १० प्रतिशत छूट दिने, शिक्षा क्षेत्रको विकासका लागि माध्यमिक तहसम्मका विद्यालय सञ्चालनमा थप प्रभावकारिता ल्याउन जिल्ला शिक्षा कार्यालयसँगको समन्वयमा आवश्यक पूर्वाधार निर्माण गरिने र निजी स्रोतबाट सञ्चालित विद्यालयमा शिक्षकको व्यवस्था गरी शैक्षिक गुणस्तरमा सुधार ल्याउने नीति अवलम्बन गरिएको छ।
चालू आवदेखि कृषक पेन्सन कोष स्थापनाका लागि दुई लाख रुपैयाँसमेत विनियोजन गरिएको छ भने एफएम, रेडियोको व्यवस्थापन र सञ्चालनका लागि एफएम रेडियो सञ्चालन कार्यविधि २०७४ पारित गरिने भएको छ ।