हलेसी तुवाचुङ नगरपालिकाले ४१ करोड रुपैयाँभन्दा बढीको बजेट, नीति तथा कार्यक्रम पारित गरेको छ ।
होटल हलेसी भिलेजमा शनिबार आयोजित प्रथम नगरसभाले ४१ करोड २९ लाख ४८ हजार १ सय १० रुपैयाँ बराबरको बजेट, नीति तथा कार्यक्रम पारित गरेको हो।
धार्मिक तथा पर्यटकीयस्थल हलेसी महादेवस्थान रहेको नगरपालिकाका प्रमुख इवन राईले पेश गरेका अनुदानतर्फ २३ करोड ३५ लाख ३९ हजार रुपैयाँ र नेपाल सरकारको सशर्त अनुदानतर्फ १५ करोड ३६ लाख ४० हजार रुपैयाँ बजेट नगरसभाले पारित गरेको कार्यकारी अधिकृत अनिल किरातीले जानकारी दिए ।
अनुदानतर्फको ७५ प्रतिशत रकम अर्थात १७ करोड ५१ लाख ५४ हजार २ सय ५० रुपैयाँ पूँजीगततर्फ तथा निशर्ततर्फको २५ प्रतिशत अर्थात पाँच करोड ८३ लाख ८४ हजार ७ सय ५० रुपैयाँ बजेट चालू आवका लागि बजेट विनियोजन गरिएको नगरपालिकाले जनाएको छ ।
बजेटमध्ये शिक्षा शाखाका लागि १३ करोड ६३ लाख दुई हजार रुपैयाँ, जनस्वास्थ्य सेवा शाखाका लागि एक करोड २४ लाख ५ हजार रुपैयाँ, आयुर्वेद स्वास्थ्य शाखाका लागि १८ लाख ५४ हजार रुपैयाँ, कृषि विभागतर्फ १६ लाख रुपैयाँ र पशुसेवा विभागतर्फ १४ लाख ७९ हजार रुपैयाँ विनियोजन गरिएको नगरपालिकाले जनाएको छ । रासस