सहारा क्लब पोखराद्वारा स्थापित सहारा एकेडेमीको अक्षयकोषमा आजसम्म एक करोड २० लाख २९ हजार २८१ रुपैयाँ संकलन भएको छ ।
अनाथ, असहाय र कठीन अवस्थामा रहेका बालबालिकालाई निःशुल्क आधारभूत शिक्षा र सक्षम राष्ट्रिय फुटबल खेलाडी उत्पादन गर्ने उद्देश्यले सो अक्षयकोष स्थापना गरिएको हो ।
सो एकेडेमीमा हाल १६ जिल्लाका २८ जना बालबालिक बस्दै आएका छन् । डेढ वर्षभित्रमा सो अक्षयकोषमा दुई करोड रुपैयाँ बढी पुर्याउने लक्ष्य राखिएको क्लबका अध्यक्ष वीरभद्र आचार्यले जानकारी दिए ।
क्लबका अध्यक्ष आचार्यले आजै आफनो तर्फबाट अक्षयकोषमा जम्मा गर्न ५५ हजार ५ सय ५५ रुपैयाँ क्लबका कोषाध्यक्ष विश्वराज बराललाई हस्तान्तरण गरे ।
यसैबीच आजै पोखरा निवासी दिनेश श्रेष्ठ, दिलीपराज श्रेष्ठ र दीपक श्रेष्ठले आफ्ना स्व पिता आनन्दराज श्रेष्ठको स्मृतिमा अक्षयकोष स्थापना गर्न दुई लाख रुपैयाँ सहयोग गर्ने घोषणा गरेका छन् । रासस