इरानले इसराइलमाथि दोस्रो चरणको हमला थालेको छ।
इसराइलले शुक्रबार बिहान इरानका एक सय भन्दा बढी लक्ष्यहरूलाई निशाना बनाएर भीषण हमला गरेपछि इरानले पनि जबाफी हमला गरेको हो।
गएरातिदेखि इसराइलको राजधानी तेल अभिभ,जेरूसलेम, रमात गान लगायतका सहरलाई लक्ष्य गरेर क्षेप्यास्त्र प्रहार गरेको अन्तर्राष्ट्रिय सञ्चारमाध्यमहरूले जनाएका छन्।
यसलाई इरानले इसराइलमाथि गरेको जबाफी हमलाको दोस्रो चरण भनिएको छ। पहिलो चरणको हमला इरानले शुक्रबार बिहानै गरेको थियो।
इसराइलले दुई सय लडाकू विमानसहित अरू हवाई हतियार प्रयोग गरी इरानमा ठूलो भौतिक र मानवीय क्षति हुनेगरी हमला गरेको थियो।
त्यसको जबाफमा इरानले करिब एक सय ड्रोनले इसराइलमाथि प्रहार गरेको थियो। इसराइलको आकाश अत्यन्त सुरक्षित मानिन्छ त्यसकारण सय वटा ड्रोनहरूलाई पनि उसले सजिलै निष्क्रिय तुल्याएको थियो।
शुक्रबार रातिबाट भने इरानले इसराइलमाथि ठूलो परिमाणमा ब्यालिस्टिक मिसाइल, रकेट र ड्रोनहरूले हमला गरेको अन्तर्राष्ट्रिय सञ्चारमाध्यमहरूले जनाएका छन्।
इसराइली डिफेन्स फोर्सले पनि इरानबाट प्रहार भएका एक सय भन्दा मिसाइलहरूलाई एयर डिफेन्स सिस्टमबाट नष्ट गरिएको भनेका छन्। साथै इसराइली आकाशमा इरानी ड्रोनहरू पनि देखिएको उसले बताएको छ।
‘इरानबाट प्रक्षेपण गरिएका मानवरहित हवाई साधन देखिएपछि इसराइलका अधिकांश स्थानहरुमा साइरन बजिरहेको छ,’ आइडिएफले जारी गरेको विज्ञप्तीमा भनिएको छ।
अमेरिकी मिडिया सिएनएनका अनुसार इरानी हमलाका कारण इसराइलमा मारिनेको संख्या पनि बढिरहेको छ।
सिएनएनले आपतकालीन प्रतिक्रिया एजेन्सी म्यागेन डेभिड एडोमलाई उद्धृत गरेर तेल अभिभको दक्षिणमा रहेको रिशोन लेजियोनमा घरहरू नजिकै इरानी क्षेप्यास्त्र आक्रमणमा दुई जनाको मृत्यु भएको र १९ जना घाइते भएको उल्लेख गरेको छ।
योसँगै इसराइलमा इरानी हमलामा परी मृत्यु हुनेको संख्या तीन पुगेको छ। यसअघि तेल अभिभको पूर्वी सहर रमात गानमा एक महिलाको मृत्यु भएको थियो।
रमत गानको दान क्षेत्रमा इरानले प्रहार गरेको हतियारको ट्रक्रा खसेर ती महिलालाई लागेको सिएनएनले जनाएको छ।
त्यस क्षेत्रमा अरू मानिसहरू पनि घाइते भएको चिकित्सा अधिकारीहरूलाई उद्धृत गरेर इसराइली सैन्य अधिकारीहरूले बताएका छन्।
एक जना प्रहरी प्रवक्ताले ती महिलाको घटनास्थलमै मृत्यु भएको बताएका छन्। त्यहाँबाट अरू घाइतेहरुलाई उद्धार गरेर अस्पताल पठाइएको छ।
घटनास्थलमा आपतकालीन उद्धार अधिकारीहरू खटिएका छन्।
राजधानी तेल अभिभ र जेरूसलेममा शुक्रबार राति विस्फोटका ठूला आवाज सुनिएको भनेर स्थानीयहरूले बताएका छन्।
‘हामी घर फर्कँदा सिसाका ट्क्राहरू छरपस्ट थिए। हामीले हाम्रो अपार्टमेन्ट जलिरहेको देख्यौं। केही बेरमा भवनको केही भागहरू भत्केर खस्न थाले। त्यहाँ विद्युत पनि अवरूद्ध छ। मानिसहरु भवनभित्रै अड्किएका छन्,’ तेल अभिभवासी एक पुरूषले सिएनएनसँग भनेका छन्।
इसराइलका विभिन्न अस्पतालहरुमा पनि घाइतेहरुको उपचार भइरहेको भनिकएको छ। कम्तिमा ३४ जना घाइते रहेको र त्यसमध्ये २ जनाको अवस्था गम्भीर रहेको अन्तर्राष्ट्रिय समाचार संस्था रोयटर्सले लेखेको छ।
इसराइली अधिकारीहरुले पनि शुक्रबार राति मात्रै इरानले एक सय ब्यालिस्टिक मिसाइल इसराइली शहरहरूलाई लक्ष्य गरेर प्रहार गरेको बताएका छन्। तीमध्ये अधिकांश मिसाइलहरू एयर डिफेन्स सिस्टमले निस्तेज पारेको त्यहाँका सैन्य अधिकारीहरूले बताएका छन्।
यद्यपि रमत गान र तेल अभिभमा धेरै भवनहरूमा क्षति पुगेको बताइएको छ।
इसराइलको आणविक कार्यक्रमका क्षेत्रहरूमा भने क्षति नपुगेको विज्ञहरूलाई बताएको भनेर रोयटर्सलेले लेखेको छ।
इसराइलले शुक्रबार बिहान इरानमाथि भीषण आक्रमण गरेपछि देशभर आपतकाल घोषणा गरेको थियो। उसले विद्यालयदेखि अस्पतालसम्म बन्द गरेको थियो। राति देखि नै देशभरका एयर डिफेन्स सिस्टम सक्रिय गराएको थियो।
त्यसअघि उसले इरानको सैन्य संरचना, हवाइ अड्डा, आणविक हतियार बनाउने वैज्ञानिकहरूको मृत्यु हुनेगरी इरानमा आक्रमण गरेको थियो।
इसराइलको आक्रमणबाट इरानको इस्लामिक रिभोलुसनरी गार्ड कोरका प्रमुख कमान्डर हुसेन सलामी, सेनाका प्रमुख मेजर जनरल मोहम्मद बाघेरी, रिभोलुसनरी गार्डकै हवाई फोर्स कमान्डर आमिर अली हाजीजादेह, खताम अल अनबिया मुख्यालय प्रमुख घोलाम अलली रसिद लगायत कम्तिमा पनि २० जना सैन्य अधिकारी मारिएको अन्तर्राष्ट्रिय सञ्चारमाध्यमहरूले जनाएका छन्।
यसरी प्रमुख सैन्य अधिकारीहरु नै मारिएपछि इरानी सेनाको चेन अफ कमान्ड नै ध्वस्त भएको छ। सर्वोच्च नेता आयातोल्लाह अल खामेनीले ब्रिगेडियर जनरल मोहम्मद पाकपोरलाई रिभोलुसनरी गार्डका प्रमुख नियुक्त गरेका छन्।
बाघेरीको ठाउँमा मेजर जनरल सैयद अबदुलरहिम मौसावीलाई सेना प्रमुख र रसिदको ठाउँमा अली शदमानीलाई खताम अल अनबिया मुख्यालय प्रमुख नियुक्त गरेका छन्।
त्यस्तै आणविक हतियार बनाउने वैज्ञानिकहरू पनि हमलामा मारिएका छन्।
मोहम्मद मेहदी तेहराँची, फरदून अब्बासी, मोहम्मद इस्लामी लगायतका परमाणु वैज्ञानिकहरु इसराइली हमलामा मारिएका हुन्। इसराइलले इरानविरूद्धको हमलालाई अपरेशन लायन नाम दिएको छ।
हमलाबाट कम्तिमा ८० जनाको मृत्यु र साढे तीन सय हाराहारीमा घाइते भएको बताइएको छ।
इसराइलका प्रधानमन्त्री बेन्जमिन नेतन्याहूले इरानको परमाणु कार्यक्रम निष्क्रिय नपारून्जेल हमला जारी रहने बताएका छन्।
अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले आणविक हतियार सम्झौतामा सहमति गरेर इसराइली आक्रमण रोक्नका लागि इरानलाई अझै समय रहेको बताएका छन्।
यो पनिः इसराइलले इरानमाथि किन गर्यो हमला?