चैत १५ गते काठमाडौंको तीनकुनेमा भएको घटनामा जिल्ला अदालत काठमाडौंको आदेशअनुसार दुर्गा प्रसाईंसहित ७ जना पुर्पक्षको लागि थुनामा पठाइएका छन्।
काठमाडौं जिल्ला अदालतका न्यायाधीश ध्रुवराज कार्कीको इजलासले शुक्रबार दुर्गा प्रसाईंसहित सात जनालाई थुनामा राख्न आदेश दिएको थियो। त्यसपछि उनीहरूलाई डिल्लीबजार कारागार चलान गरिएको हो।
३२ जनालाई भने धरौटी माग गरेर पुर्पक्षमा राख्न आदेश दिएको थियो।
जिल्ला प्रहरी परिसर काठमाडौंका एसपी अपिलराज बोहराले सात जना मध्यराति नै कारागार चलान भएको बताए।
तीनकुने घटनाका मुख्य योजनाकार भनिएका दुर्गा प्रसाई, घरमा आगो लगाएको आरोप लागेका गोकर्ण शाही, सरोज गौतम, डण्डपाणी रेग्मी, सिसिटिभी फुटेजमा तोडफोड गर्ने केशव बस्नेत, जडिबुटी प्रशोधन केन्द्रमा आगजनी गर्ने र करिडोरमा भएको गाडीमा तोडफोड र आगजनी गर्नेलाई अदालतले नै थुनामा पठाउन आदेश दिएको हो।
राजसंस्था पुनर्स्थापनासहित एजेन्डामा 'संयुक्त जनआन्दोलन समिति' ले तोकेका 'जनकमाण्डर' प्रसाईंको आह्वानमा चैत १५ गते तीनकुनेमा हिंसात्मक प्रदर्शन भएको थियो।
उक्त घटनामा दुई जनाको मृत्यु भएको थियो।