उच्च अदालत जनकपुर वीरगन्ज इजलासका न्यायाधीश खुसीप्रसाद थारूमाथि दुर्व्यवहार भएको छ।
बिहीबार वीरगन्जमा इजलास बसिरहँदा केही व्यक्तिले न्यायाधीश थारूमाथि दुर्व्यवहार गरेका हुन्।
उक्त अदालतका रजिष्ट्रार दिपक भण्डारीका अनुसार दुर्व्यवहारमा संलग्न रहेका तीन जनालाई नियन्त्रणमा लिइएको छ।
उनीहरूको नेकपा बहुमत पार्टीका कार्यकर्ताहरू हुन्। उनीहरूले इजलासभित्रै छिरेर न्यायाधीशमाथि मसी प्रहार गरेका थिए।
‘इजलासभित्र मसी दल्ने प्रयास गरेका थिए तर तीन जनालाई् नियन्त्रणमा लिइएको छ,’ उनले भने।
जिल्ला प्रहरी कार्यालय पर्साका डिएसपी किशोर लम्सालले पक्राउ परेका व्यक्तिहरू दुर्व्यवहार गर्ने उद्देश्यले नै अदालत प्रवेश गरेको बताए।
‘उनीहरू दुर्व्यवहार गर्ने उद्देश्यले नै भित्र पसेको देखियो। इजलासमा सुनुवाइ सकेर न्यायाधीशहरू लेख्दै हुनुहुन्थ्यो। त्यही बेलामा उनीहरू प्रवेश गरेर दुर्व्यवहार गरेका हुन्,’ उनले भने, ‘तीनै जनाले आफूहरू धर्मेन्द्र बाँस्तोला निकट नेकपा बहुमतको कार्यकर्ता हुँ भनेका छन्।’
पक्राउ पर्नेमा सिरहाका ४८ वर्षीय गर्भु महतो, सर्लाहीका ४३ वर्षीय पदमबहादुर मगर र प्युठान घर भई ललितपुर बस्ने ३८ वर्षीय अविनाश भन्ने किशोर कवँर छन्। कवँर पार्टीका केन्द्रीय सदस्य हुन्।
मगर जिल्लाका इन्चार्ज र महतो जिल्ला समिति सम्पर्क सदस्य रहेको खुलेको छ।
नेपाली कांग्रेसका नेता अफताब आलमलाई सफाइ गर्ने फैसला गरेको भन्दै उनीहरूले न्यायाधीशमाथि दुर्व्यवहार गरेका थिए।
जेठ १४ गते न्यायाधीश खुसीप्रसाद थारू र अर्जुन महर्जनको संयुक्त इजलासले आलमसहित ४ जनालाई राजापुर बम बिस्फोट मुद्दामा सफाइ दिएका थिए।