काठमाडौंमा लागु औषध कारोबारमा संलग्न भएको आरोपमा ४ जना पक्राउ परेका छन्।
बिहीबार दिउँसो काठमाडौं महानगरपालिका-१४ बल्खुबाट प्रहरी वृत्त कालिमाटीको टोलीले चार जनालाई लागु औषधसहित पक्राउ गरेको हो।
सिन्धुली गोलञ्जोर गाउँपालिका-२ घर भई बुढानिकलकण्ठ नगरपालिका-४ बस्ने २४ वर्षीय होमराज श्रेष्ठ, काभ्रे धुलिखेल नगरपालिका घर भई काठमाडौं महानगरपालिका-१२ बस्ने २३ वर्षीय रविन श्रेष्ठ, नुवकोटको तारकेश्वर गाउँपालिका-४ का २१ वर्षीय सुरेन्द्र अछामी र धादिङ त्रिपुरासुन्दरी गाउँपालिका-४ बस्ने २५ विजय आलेमगर पक्राउ परेका हुन्।
होमराज शंकास्पद तरिकाले हिँडेको देखेपछि प्रहरीले उनलाई नियन्त्रणमा लिएको हो।
अनुसन्धानका क्रममा उनीबाट लागु औषध बरामद भएपछि थप तीन जना पक्राउ गरिएको जिल्ला प्रहरी परिसर काठमाडौंका एसपी अपिलराज बोहराले जानकारी दिए।
उनीहरूबाट लागुऔषध ट्रामाडोल एक हजार ६७ क्याप्सुल र १९ हजार नगद बरामद भएको छ। जिल्ला अदालत काठमाडौंबाट ६ दिनको म्याद थप गरेर अनुसन्धान भइहरेको उनले बताए।