रूपन्देहीको लुम्बिनी सांस्कृतिक नगरपालिका वडा नम्बर ११ जितवापुरमा दुई समूहका युवाबीच कुटाकुटा हुँदा एकजना घाइते भएका छन्।
जितवापुरमा चलिरहेको महायज्ञमा रहेका युवाहरु र मोहसड गाउँबाट गएका युवाहरूको समूहबीच शनिबार राति कुटाकुट भएको हो।
जिल्ला प्रहरी कार्यालय रुपन्देहीका प्रमुख प्रहरी उपरीक्षक प्रदीप क्षेत्रीका अनुसार जितवापुरमा गत जेठ २ गतेदेखि महायज्ञ चलिरहेको छ।
महायज्ञ भएको दिनदेखि नै मोहसडका केही युवाहरू रातिको समयमा महायज्ञस्थलमा आएर विवाद गर्ने गर्दै आइरहेका थिए।
शनिबार राति पनि करिब १२ बजेतिर गएका युवाहरुको समुहले महायज्ञ स्थलमा रहेका युवाहरुसँग विवाद गरेपछि कुटाकुट सुरु भएको थियो। कुटपिटको क्रममा स्थानीय विक्रम सिंह घाइते भएका छन्।
विक्रमको हात खुट्टामा चोट लागेको र उनको भैरहवास्थित भिम अस्पतालमा उपचार भईरहेको प्रहरी उपरिक्षक क्षेत्रीले जानकारी दिए।
कुटाकुट भएपछि इलाका प्रहरी कार्यालय लुम्बिनीको टोलीले दुई जनालाई पक्राउ गरेको छ।
पक्राउ पर्नेहरुमा मोहसडका २७ वर्षीय कमरउद्धिन मुसलमान र २६ वर्षीय रोशन अली फकिर रहेका छन्।
प्रहरी उपरिक्षक क्षेत्रीले पक्राउ परेकाहरुको साथबाट गोली नभएको एकथान कटुवा पेस्तोल समेत बरामद गरिएको जानकारी दिए। पक्राउ परेकाहरुलाई इलाका प्रहरी कार्यालय लुम्बिनीमा राखिएको र थप अनुसन्धान भइरहेको प्रहरी उपरिक्षक क्षेत्रीले बताए।