भारतमा कोरोनाभाइरस (कोभिड-१९) संक्रमण फैलिन थालेको रिपोर्टहरूले देखाएको छ।
भारतीय सञ्चारमाध्यमहरूले सरकारी विवरणलाई आधार मानेर भारतमा कोरोनाभाइरस संक्रमण फैलिन थालेको उल्लेख गरेका छन्।
गत महिनामा न्यून र घट्दो क्रममा रहेको कोरोना भाइरस सक्रमण मे महिनायता बढ्न थालेको टाइम्स अफ इन्डियाले जनाएको छ।
मे महिनायता कोरोना संक्रमितको संख्या बढेर देशभरि २५७ जना पुगेको समाचारमा उल्लेख छ। मे महिनाको १२ तारिखयता मात्रै १६४ जना नयाँ संक्रमित थपिएका छन्।
दिल्लीमा अघिल्लो साता दुई जना संक्रमितको मृत्यु समेत भएको टाइम्स अफ इन्डियाले जनाएको छ। यद्यपि ती दुई संक्रमितहरूमा अरू रोग पनि देखिएको थियो।
केरल, तामिलनाडु र महाराष्ट्र सबैभन्दा बढी प्रभावित राज्य हुन्। कुल संक्रमितमध्ये ८५ प्रतिशत संख्या यी तीन राज्यका मात्रै छन्।
केरलमा ९५, तामिलनाडुमा ६६ र महाराष्ट्रमा ५६ सक्रिय संक्रमित छन्। त्यसैगरी दिल्लीमा २३ जना, पुडुचेरीमा १० जना, कर्नाटकामा १३ जना, गुजरातमा ७ जना, राजस्थानमा २ जना, हरियाणा, सिक्किम र पश्चिम बंगालमा १/१ जना सक्रिय संक्रमित रहेको टाइम्स अफ इन्डियाले जनाएको छ।
केरलमा ६६ जना नयाँ संक्रमित भेटिएको पनि बताइएको छ। यद्यपि नयाँ संक्रमितहरू कसैलाई पनि अस्पताल भर्ना गर्न नपरेको र धेरै खतरनाक नदेखिएको पनि भनिएको छ।
कोरोनाको पहिलो लहरयता भारतमा झन्डै साढे ४ करोड मानिसहरू संक्रमित भएका थिए। तीमध्ये ५ लाख ३३ हजारभन्दा बढी मानिसहरूको मृत्यु भएको तथ्यांक छ।
टाइम्स अफ इन्डियाले सिंगापुर र हङकङमा पनि कोरोनाभाइरस संक्रमणको दर बढ्न थालेको जनाएको छ।
अहिले फैलिएको कोरोना भाइरसको स्वरूप ओमिक्रोन भेरियन्टको नयाँ भाइरस जेएन.१ भेरियन्ट हो। यो भाइरसको संक्रमण केही अघि नेपालमा पनि देखिएको थियो।
पढ्नुस्: नेपालमा भेटिएको कोरोनाको नयाँ भेरियन्ट जेएन.१ बाट डराउनुपर्छ?
पछिल्लो समय भिडभाड र यात्राको क्रम बढेका कारण पनि भाइरस फैलिएको स्वास्थ्य अधिकारीहरूको आकलन छ।
कोरोनाभाइरस पुनः फैलिन थालेपछि स्वास्थ्य अधिकारीहरूले स्वास्थ्य सतर्कता अपनाउन आग्रह गरेको भारतीय सञ्चारमाध्यमहरूले जनाएका छन्।