मोरङ जिल्ला अदालतले विराटनगरका एक जना शिक्षकलाई बाल यौन दुर्व्यवहारको मुद्दामा दोषी ठहर गर्दै एक वर्ष कैद र एक लाख रुपैयाँ क्षतिपूर्ति गराउन आदेश दिएको छ।
विराटनगर–२ को जनता नमूना माध्यमिक विद्यालयका शिक्षक ओजेश भगतलाई अदालतले दोषी ठहर गरेको हो।
मोरङ जिल्ला अदालतका न्यायाधीश उद्धवप्रसाद भट्टराईको इजलासले बुधबार शिक्षक भगतलाई बाल यौन दुर्व्यवहारको मुद्दामा दोषी ठहर गरेर सजाय तोकेको स्रेस्तेदार मणि पोखरेलले जानकारी दिए।
विराटनगर–२ कै बासिन्दा ५८ वर्षीय शिक्षक भगत अबको दुई वर्षपछि अनिवार्य अवकाशमा जान लागेका शिक्षक हुन्।
प्राथमिक तहका शिक्षक भगतले आफ्नै विद्यालयमा अध्ययनरत नाबालिकालाई यौनजन्य दुर्व्यवहार गर्ने गरेको आरोपसहित उजुरी आएपछि प्रहरीले गएको फागुनमा पक्राउ गरेको थियो।
गएको चैत १५ मा मोरङ जिल्ला अदालतमा उनीविरुद्ध मुद्दा दायर भएको थियो। त्यसपछि चैत १७ मा भएको प्रारम्भिक सुनुवाइका क्रममा भगत धरौटीमा छुटेका थिए।
प्रारम्भिक सुनुवाइका क्रममा धरौटीमा छुटेका उनलाई अदालतले अन्तिम आदेशमा भने दोषी ठहर गरेको हो। वैशाख ३० मा जिल्ला अदालतले उनीमाथिको कसुर ठहर गरेको थियो। बुधबार भने उनीमाथि सजाय तोकिएको हो।
जिल्ला अदालतबाट दोषी ठहर भएका भगतसँग माथिल्लो अदालत जाने बाटो भने खुला नै हुनेछ । त्यसैले सो अवधिभरि उनी पक्राउ भने पर्ने छैनन्।
ठूला कक्षाका विद्यार्थीले साना विद्यार्थीबाट शिक्षकको हर्कतबारे कुरा सुनेपछि त्यो खबर विद्यालय प्रशासनमा पुर्याएका थिए।
विद्यालय प्रशासनले विद्यार्थीहरुका कुरा सुनेपछि विषय गम्भीर रहेको भन्दै प्रहरी बोलाएको थियो।