काठमाडौंको तीनकुने घटनामा पक्राउ परेका दुर्गा प्रसाईंसहित ५३ जनालाई थप दुई दिन हिरासतमा राख्न प्रहरीले अनुमति पाएको छ।
जिल्ला अदालत काठमाडौंले उनीहरूमाथि अनुसन्धान गर्न थप दुई दिन अनुमति दिएको जिल्ला प्रहरी परिसर काठमाडौंका एसपी अपिलराज बोहराले बताए।
‘अनुसन्धान अझै सकिएको छैन। त्यसैले थप दुई दिनको म्याद पाएका छौं,’ उनले भने।
परिसरले तीनकुने घटनाको अनुसन्धान अन्तिम चरणमा पुर्याएको छ।
यस घटनामा प्रहरीको हिरासतमा ५३ जना छन्। जसमध्ये प्रसाईंसहित २६ जनाविरूद्ध राज्यविरूद्धको कसुर, संगठित अपराधमा अनुसन्धान भइरहेको हो।
बाँकी २७ जनामाथि आपराधिक उपद्रवमा अनुसन्धान भइरहेको हो।
प्रहरीले केही दिनमै सरकारी वकिल कार्यालय काठमाडौंलाई प्रतिवेदन बुझाउँदैछ। उक्त प्रतिवेदन बुझाएसँगै सरकारी वकिलले अभियोजन गरी जिल्ला अदालत काठमाडौंमा मुद्दा दर्ता गर्नेछ।
यस तीनकुने घटनामा राप्रपाका वरिष्ठ उपाध्यक्ष रविन्द्र मिश्र, महामन्त्री एवं सांसद धवलशम्शेर राणासहित ३७ जना हाजिर जमानीमा छन्।