मोटरसाइकल किनेको केही घण्टामै भएको दुर्घटनामा परी दाजु-भाइको ज्यान गएको छ।
शनिबार साँझ नवलपरासीको कावासोती नगरपालिका वडा नं १ लोकाहा जंगलमा लु १३ प ७०२ नं को मोटरसाइकल दुर्घटना हुँदा एकै घरका दाजुभाइको ज्यान गएको थियो।
स्थानीयका अनुसार कावासोती नगरपालिका वडा नं ११ शान्तिटोलका २४ वर्षीय सागर दर्लामी र २१ वर्षीय ईश्वरी दर्लामी मोटरसाइकल किनेर घर फर्किदै गर्दा दुर्घटनामा परेका हुन्। को मृत्यु भएको प्रहरीले जनाएको छ।
देवचुलीको मुण्डेबाट मोटरसाइकल किनेर केही बेर बजार घुमेपछि उनीहरु लोकाहामा रहेको घर फर्कंदै गर्दा लोकाहा जंगलमा दुर्घटनामा परेको कावासोती नगरपालिका वडा नं. ११ का वडा सदस्य विष्णुवीर रानामगरले बताए।
सडकमा गुडिरहेको मोटरसाइकल अनियन्त्रित भइ आफै दुर्घटनामा परेको जिल्ला प्रहरी कार्यालय नवलपुरले जनाएको छ। जिल्ला प्रहरी कार्यालयका प्रहरी उपरीक्षक यादव ढकालका अनुसार दुर्घटनामा गम्भीर घाइते भएका दुवै जनालाई उद्धार गरी उपचारका लागि मध्यबिन्दु प्रादेशिक अस्पताल लगिएको थियो। अस्पताल पुर्याएको केही समयमै चिकित्सकले दुबैजनालाई मृत घोषणा गरेका थिए।
स्थानीयका अनुसार मृतकमध्ये दाजु सागर रोजगारीको लागि भारतमा रहेको र एकमहिना अघि मात्रै बिदामा आएका थिए। बिदामा आएका उनले स्थानीय एक होटलमा काम सुरु गरिसकेको थिए भने भाईका लागि भनेर त्यसैदिन बिहान मात्रै मोटरसाइकल किनिदिएका थिए।
‘मोटरसाइकल किनेर घुम्न गएका रहेछन् एकदिनमै दुर्घटनामा परेको भन्ने सुनेको छु, वडा सदस्य विष्णुवीर राना मगरले भने। वडा सदस्य रानामगरका अनुसार मृतक सागर र ईश्वरीका बुवाको १० बर्ष अघि नै मृत्यु भइसकेको थियो। उनीहरुलाई आमाले हुर्काउने र पढाउने गरेकी थिइन्।
आर्थिक अवस्था कमजोर भएको कारण गत वर्ष सामुदायिक वन उपभोक्ता समितिको पहलमा स्थानीयले सहयोग जुटाएर उनीहरुको दुईधुर जग्गामा घर बनाइदिएका थिए।