विश्व लुपस दिवसको अवसरमा लुपस नेपालले जनचेतनामूलक र्याली गरेको छ।
चिकित्सक, स्वास्थ्यकर्मी र अभियन्ता लगायतले माइतीघर मण्डलदेखि जावलाखेलसम्म र्याली गरेका हुन्।
लुपस अन्त्यका लागि हिडौं भन्ने अभियानसहित गरिएको र्यालीका सहभागीले विभिन्न सचेतनामूलक प्लाकार्ड बोकेका थिए।
विश्वरभर ५० लाख भन्दा धेरैमा लुपस रहेको अनुमान छ।
लुपस के कारणले र कसरी हुन्छ भन्ने विषय अज्ञात रहेता पनि वंशाणुगत, महिलाहरूमा हुन सक्ने हर्मोन, भाइरस लगायतका केही संक्रमण यो रोगको कारण मानिन्छ।
लुपसले शरीरका विभिन्न अंगहरूमा असर पुर्याउने हुनाले यसका लक्षण पनि फरक फरक हुने बाथ रोग विशेषज्ञ केशव सिग्देलले बताए।

‘यो रोग के कारणले हुन्छ भनेर पत्ता लागेको छैन। यसबाट जोगिन स्वस्थ जीवन शैली अपनाउने हो,’ उनले भने, ‘जोर्नी तथा मांसपेशी दुख्ने, थकानको महसुस हुने, गर्भपतनको जोखिम बढ्ने लगायतका लक्षणहरू देखिन्छन्। यसलाई खेलाँची गर्नु हुँदैन।’
घामको किरण, परिवार नियोजनाको चक्की, चिसो मौसम, विभिन्न किसिमका संक्रमण र शारीरिक तथा मानसिक तनावले रोगलाई उत्तेजित गराउने डा सिग्देलले बताए।
यसलाई पूर्ण रूपमा निको पार्न नसके पनि नियमित औषधिको प्रयोग गरेर नियन्त्रण गर्न सकिने उनले जानकारी दिए।
लुपसले जुनसुकै उमेरका महिला र पुरूषलाई असर गर्न सक्ने भएता पनि लुपसका लगभग ९० प्रतिशत बिरामीहरू १५ देखि ४५ वर्षका महिलाहरूमा हुने गरेको अनुसन्धानले देखाएको छ।