रूकुमपश्चिम सोती घटनामा जातीय विभेद कसुर बदर गरेको भन्दै पीडित परिवारले न्याय परिषदमा उजुरी दिएका छन्।
पीडित परिवारले बिहीबार न्याय परिषदमा पुगेर उच्च अदालत सुर्खेतका न्यायाधीशहरू सोमकान्त मैनाली र मातृकाप्रसाद भण्डारीविरूद्ध उजुरी दिएका हुन्।
परिषदमा उजुरी दिन सोती घटनामा मारिएका नवराज विकका बुवा मुनलाल नेपाली, गोबिन्द शाहीकी आमा भिमीकुमारी बुढाथोकी शाही र लोकेन्द्र सुनारकी आमा लक्ष्मी सुनार पुगेका थिए।
न्याय परिषदका सचिव यमबहादुर बुढामगरले पनि पीडित परिवार परिषदमा आएको बताए।
गत वैशाख १६ गते उच्च अदालत सुर्खेतका न्यायाधीशहरू मैनाली र भण्डारीले सोती घटनामा २३ जना आरोपीलाई जिल्ला अदालत सुर्खेतले दिएकै जन्मकैद सजायलाई सदर गरेको थियो।
तर जातीय भेदभाव तथा छुवाछुतमा जिल्ला अदालतले दुई वर्ष कैद र ५० हजार रुपैयाँ जरिवानालाई बदर गरेको थियो।
जातीय विभेदकै कारणले २०७७ जेठ १० गते नवराज विकसहित ६ जनाको हत्या भएको तर त्यही कसुरमा उच्च अदालतले उल्ट्याएको भन्दै पीडित परिवारले विरोध जनाउँदै आएको छ।
त्यस कसुरमा फैसला गरेको भए पनि पूर्णपाठ भने आउन बाँकी छ।
सोती घटनामा सोती गाउँका स्थानीयको आक्रमणबाट नवराज विक, भेरी नगरपालिका–४ कै १७ वर्षीय गणेश बुढामगर, २१ वर्षका सञ्जु विक, भेरी नगरपालिका–११ का १८ वर्षीय लोकेन्द्र सुनार, गोबिन्द शाही र रूकुम पश्चिमको चौरजहारी नगरपालिका–१ का २० वर्षीय टीकाराम नेपालीको मृत्यु भएको थियो।