भक्तपुरमा मोटरसाइकलसँग स्कुटर ठोक्किँदा स्कुटर चालकको मृत्यु भएको छ।
बिहीबार बिहान १० बजेतिर चाँगुनारायण नगरपालिका-८ ताथलीमा मोटरसाइकल र स्कुटर दुर्घटना हुँदा एक जनाको मृत्यु भएको जिल्ला प्रहरी परिसर भक्तपुरका डिएसपी ढुण्डिराज न्यौपानेले जानकारी दिए।
च्यामसिंहबाट नाला जाँदै गरेको बा. ९१ प. ८४१२ नं. मोटरसाइकलले विपरीत दिशाबाट आउँदै गरेको प्रदेश ३-०२-०१४ प. ५०४३ नं. को स्कुटरलाई ठक्कर दिएको थियो।
दुई वटा सवारीसाधन जुध्दा नालाबाट च्यामसिंह आउँदै गरेको अर्को बा. प्र. ०२-०३६ प. ५३२७ नं.को मोटरसाइकल आफै अनियन्त्रित भई स्कुटरसँग पुन: ठोक्किएको थियो।
स्कुटरका चालक चाँगुनारायण-९ सुडालका १७ वर्षीय रिजन फुयाजु गम्भीर घाइते भएका थिए। उनको उपचारको लागि मध्यपुर ठिमी अस्पताल लगिएको थियो।
त्यहाँ उपचारको क्रममा उनको मृत्यु भएको डिएसपी न्यौपानेले बताए।
बा. प्र. ०२-०३६ प. ५३२७ नं.का मोटरसाइकल चालक नुवाकोट शिवपुरी गाउँपालिका-२ घर भई गोकर्णेश्वर बस्ने ४० वर्षीय बिरे तामाङ घाइते छन्। उनको ख्वप अस्पतालमा उपचार भइरहेको छ।
प्रहरीले अर्को मोटरसाइकल र चालकलाई नियन्त्रणमा लिएको छ। भारत घर भई काभ्रे बनेपा बुने ईजार आलमलाई पक्राउ गरी प्रहरीले अनुसन्धान अघि बढाएको छ।