काठमाडौंको तीनकुने नजिक मुनिभैरवमा भ्यान र मोटरसाइकललाई बसले ठक्कर दिँदा एक जनाको मृत्यु भएको छ।
बिहीबार बिहान साढे ६ बजे पेप्सीकोलाबाट रत्नपार्क आउँदै गरेको बा३ ख ७०६२ नम्बरको बसले तीनकुनेमा भ्यान र मोटरसाइकललाई ठक्कर दिँदा मोटरसाइकलको पछाडि सवार युवतीको मृत्यु भएको हो।
काठमाडौं प्रहरी परिसरका एसपी अपिलराज बोहराका अनुसार मोटरसाइकलमा सवार नुवाकोटकी २३ वर्षीया नगिना तामाङको मृत्यु भएको हो। उनको उपचार क्रममा ट्रमा सेन्टरमा मृत्यु भएको एसपी बोहराले जानकारी दिए।
मोटरसाइकल चालक रामेछापको दोरम्बाका २७ वर्षीय पदम थापामगरको पनि ट्रमा सेन्टरमा उपचार भइरहेको छ।
भ्यानका चालक काभ्रेपलाञ्चोक मण्डनदेउपुरका ३५ वर्षीय रत्नबहादुर सार्की, ठक्कर दिने बसमा सवार दोलखा गौरीशङ्करकी २४ वर्षीय मेनुका बुढाथोकीको कान्तिपुर अस्पतालमा उपचार भइरहेको छ।
प्रहरीले बस चालक रामकुमार खड्का, भ्यान र मोटरसाइकललाई नियन्त्रणमा लिएको छ।
काठमाडौं उपत्यका ट्राफिक प्रहरी कार्यालयका प्रवक्ता एसपी दीपका गिरीका अनुसार कोटेश्वर-तीनकुने सडकको मुनीभैरव मन्दिर अगाडिको ट्राफिक लाइट रातो बलेपछि बा प्र ०२-०५३ प ३८४७ नम्बरको मोटरसाइकल र बा प्र ०१-०२६ च २९२७ भ्यान रोकिएका थिए।
रातो बत्तीमा रोकिएको दुई सवारी साधनलाई कोटेश्वर तर्फबाट तीव्र गतिमा आउँदै गरेको बसले ठक्कर दिएको एसपी गिरीले जानकारी दिए। दुर्घटनाबारे थप अनुसन्धान भइरहेको उनले बताए।