मकवानपुरको हेटौंडामा रोकिराखेको गाडी दबिएको ठाउँमा भूगर्भविद्को टोलीले अध्ययन थालेको छ।
हेटौंडा उपमहानगरपालिका-१७ गैरीगाउँमा सडक भासिएर गाडी जमिनमुनि पसेको ठाउँमा मंगलबार बिहानदेखि चार जना विज्ञको टोलीले अध्ययन थालेको मेयर मीनाकुमारी लामाले जानकारी दिइन्।
खानी तथा भूगर्भ विभाग काठमाडौंबाट भूगर्भविद् नारायण अधिकारीको नेतृत्वमा चार जनाको टोली सोमबार राति हेटौंडा पुगेका थिए। उपमहानगरले नै भूगर्भविदलाई बोलाउने निर्णय गरेको थियो।
अहिले उक्त ठाउँमा भूगर्भविदहरू अधिकारीसँगै कृष्ण पाण्डे, मणि खनाल र अमरबहादुर थापाले अध्ययन गरिरहेका छन्।
‘उहाँहरूले अहिले त्यस ठाउँमा घेरा हालेर काम गरिरहनुभएको छ। उहाँहरूले माग्नुभएको स्रोत साधन हामीले उपलब्ध गराएका छौं,’ मेयर लामाले भनिन्।
अहिले घटनास्थलको सय मिटर वरपर घेरा हालेर काम भइरहेको छ।
विज्ञको टोलीले विभिन्न उपकरण लगाएर परीक्षण गर्ने काम गरिरहेको पनि उनले जानकारी दिइन्।
गत शुक्रबार दिउँसो १ बजेतिर गैरीगाउँमा ना ४ ख ४८३३ को गाडी जमिनमुनि पसेको थियो।
गाडीका अगाडिको पांग्रा रहेको जमिन भासिन थालेपछि चालकले भागेर ज्यान जोगाएका थिए। उक्त ठाउँ आसपास माछा पालन गरिएका पोखरीसमेत छ।
गाडी जमिनमुनि पसेर गायब भएपछि सुरूमा स्थानीय प्रशासन र प्रहरीले खाल्डो बनेको ठाउँमा पानी निकालेर खोजी गरेका थिए। तर गाडी फेला परेन।
यो पनि: भूगर्भविद् श्रीकमल द्विवेदीलाई प्रश्न– गाडी हराउने गरी हेटौंडामा जमिनमुनि खाडल कसरी पर्यो? (भिडिओ)