रौतहटको सुधार केन्द्रमा एक युवकलाई कुटपिट गरेको भिडिओ सामाजिक सञ्जाल फेसबुक लगायतमा भाइरल छ।
भिडिओ बाहिरिएपछि प्रहरीले सञ्चालकमाथि सोधपुछ थालेको छ।
गौर नगरपालिका-४ मा रहेको राइजिङ नेपाल सुधार केन्द्रमा कुटपिट भएको घटना बाहिरिएको हो।
भिडिओ भाइरल बनेपछि प्रहरीले सुधार केन्द्रका सञ्चालक सुरज गुप्तालाई नियन्त्रणमा लिएर सोधपुछ गरिरहेको जिल्ला प्रहरी कार्यालय रौतहटका एसपी नेत्रमणि गिरीले जानकारी दिए।
‘घटना अलि पुरानो भन्ने कुरा आएको छ। सञ्चालकसँग सोधपुछ भइरहेको छ,’ उनले भने, ‘अरू दुई जना को थिए भन्ने पनि बुझ्ने काम भइरहेको छ।’
सुधार केन्द्रभित्र एक युवकलाई तीन जनाले समातेर खुट्टामा पाइपले हिर्काएको भिडिओमा देखिन्छ। यसबारे बुझ्न डिएसपी र सहायक सिडिओ घटनास्थलमा समेत पुगेको थियो।